स्वास्थ्य टिप्स| धेरै मानिसहरू खाना खाने क्रममा मोबाइल चलाउने, टेलिभिजन हेर्ने वा अरूसँग गफ गर्दै खाना खान्छन्। यो सामान्य व्यवहारजस्तो लागे पनि वैज्ञानिक अनुसन्धानहरूले खाना खाने तरिकाले हाम्रो शरीर र स्वास्थ्यमा ठूलो असर पर्ने देखाउछ । विशेषगरी, खाना छिटो खाने वा ध्यान नदिएर खाने बानीले पाचनदेखि तौल नियन्त्रणसम्म, र दीर्घकालीन स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्न वैज्ञानिकहरु बताउछन् ।
खाना विस्तारै र ध्यान दिएर खानु भनेको केवल जीवनशैलीको कुरा होइन, यो स्वास्थ्यका लागि अत्यावश्यक अभ्यास हो। पोषणविद्हरूका अनुसार, जब हामीले खानेकुरालाई राम्ररी चपाएर विस्तारै खान्छौं, त्यसले खाना साना टुक्रामा परिणत हुन्छ र पाचन प्रक्रियालाई सहज बनाउँछ। चपाउने क्रममा र्यालमा पाचन एन्जाइमहरू सक्रिय हुन्छन्, जसले पोषक तत्त्वहरू राम्रोसँग सोस्न मद्दत गर्छ। यदि खाना राम्ररी नचपाईकन निलिएको खण्डमा पेटमा पचाउने प्रक्रिया कष्टकर बन्छ र पेट फुल्ने, ग्यास हुने जस्ता समस्याहरू देखापर्न सक्छन्।
खाना निल्नुअघि कति पटक चपाउने भन्ने कुनै निश्चित संख्या छैन। तर विशेषज्ञहरू खाना गिलो र सजिलै निल्न सक्ने अवस्थामा पुगेपछि मात्र निल्नुपर्ने बताउछन्। जसले पाचनमा सहजता र पेटलाई अत्यधिक श्रम गर्नुपर्ने अवस्था कम हुने उनीहरुको भनाई छ । तर जब हामी टिभी हेर्दै, मोबाइल चलाउँदै वा अरू काम गर्दै खाना खान्छौं, हाम्रो ध्यान खानाबाट हट्छ र हामी छिटो छिटो खाइहाल्छौं। यस्तो अवस्थामा अधिक वायु पनि शरीरमा प्रवेश गर्छ, जसले पेट फुल्ने सम्भावना थप बढाउँछ।
खाना छिटो खाँदा केवल पाचनमा मात्र होइन, शरीरको तौलमा पनि असर पर्छ। छिटो खाँदा शरीरले एकैछिनमा धेरै क्यालोरी ग्रहण गर्छ, तर मस्तिष्कले आफू अघाएको सन्देश दिन केही समय लिन्छ। यसैले छिटो खाने मानिसहरूले आवश्यकताभन्दा धेरै खाने सम्भावना उच्च हुन्छ। यस्तो आदतले शरीरमा बोसो जम्ने, तौल बढ्ने र अन्ततः मोटोपन, मधुमेह, उच्च रक्तचाप, मुटुरोग जस्ता रोगको जोखिम बढाउँछ।
स्वास्थ्य विशेषज्ञहरूका अनुसार खाना खाने बेलामा काँटा–चम्चा हरेक गाँसपछि केही समयका लागि प्लेटमा राख्ने, र फेरि बिस्तारै खाने बानी बसाल्नु पर्छ। हातले खाने मानिसहरूका लागि पनि प्रत्येक गाँसपछि केही समय हात बिसाउने बानी उपयुक्त हुन्छ। खानेकुरा एकदमै नरम र गिलो नबनेसम्म चपाउने गर्दा पनि पाचन प्रणालीलाई राहत मिल्छ। खाना खाँदा कुनै पनि ध्यान भंग गर्ने गतिविधि जस्तै मोबाइल, टिभी वा अत्यधिक गफबाट टाढा रहनु नै बुद्धिमानी हुने उनीहरु बताउछन् ।



