देशबागमती प्रदेशमुख्यमन्त्री लामाले राजीनामा घोषणा गर्दै भने, ‘सरकार ढालिनु राजनीतिक षड्यन्त्र’

मुख्यमन्त्री लामाले राजीनामा घोषणा गर्दै भने, ‘सरकार ढालिनु राजनीतिक षड्यन्त्र’

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार पत्रकार सम्मेलनमार्फत पदबाट राजीनामा घोषणा गरेका छन्।

लामा साउन नौ गते मुख्यमन्त्री बनेका थिए। करिब एक वर्ष सरकारको नेतृत्व गरेका उनले नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजय बेहोरेपछि राजीनामा दिन बाध्य भएको बताए। पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनपछि आइतबार राजीनामा घोषणा गरेका लामा सोमबार मात्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई औपचारिक रूपमा राजीनामा बुझाउने भएका छन्।

राजीनामा घोषणा गर्दै लामाले सरकार ढालिनु पछाडि गम्भीर राजनीतिक षड्यन्त्र रहेको दाबी गरे। उनले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनलाई लोकतान्त्रिक मूल्य–मान्यताको अपमान र स्थायित्वको खिल्ली उडाएको बताए।

उनका अनुसार, आफू नेतृत्वको सरकारले विकास र सुशासनप्रति गम्भीर प्रतिबद्धता देखाएको थियो। तर गठबन्धनमै आन्तरिक प्रतिस्पर्धा बढ्दा संविधानको मर्म र जनअपेक्षामाथि आघात पुगेको उनको भनाइ छ। उनले आफू इमानदारीपूर्वक, पारदर्शी र बिना स्वार्थ सरकार सञ्चालन गरेको पनि दाबी गरे।

लामाले मन्त्रीपरिषद् विस्तारसमेत अवरुद्ध बनाउन खोजिएको गुनासो गर्दै बागमती प्रदेशमा मात्रै अस्थिरता ल्याउने चेष्टाले लोकतान्त्रिक स्थायित्वमा खतरा उत्पन्न भएको दाबी गरे। अन्य प्रदेश सरकार यथावत् रहेको अवस्थामा बागमतीमा मात्र अस्थिरता ल्याइनु शंकास्पद रहेको भन्दै यसको कारण पत्रकार र नागरिक समाजले खोजिदिनुपर्ने उनले आग्रह गरे।

संविधानको धारा एकसत्तरी (दुई) बमोजिम कांग्रेस र एमालेको समर्थनमा सरकारको नेतृत्व सम्हालेका लामाले अन्ततः पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र पछिल्लो राजनीतिक परिस्थितिका कारण पदत्याग गर्ने निर्णय गरेका हुन्।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img