हेटौँडा । मकवानपुरगढी गाउँपालिका खेलकुद विकास समितिले दिवंगत युवा खेलाडी साइमन योन्जनको सम्झनामा “स्व. साइमन योन्जन स्मृति रनिङ्शिल्ड फुटसल प्रतियोगिता २०८२” आयोजना गर्ने भएको छ।
बुधबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत समितिले प्रतियोगिता आगामी असोज ९ देखि ११ गतेसम्म मकवानपुरगढी–३ स्थित भानु फुटसलमा सञ्चालन हुने जानकारी दिएको हो। गत असोज १२–१३ गते कुलेखानी–सिस्नेरी क्षेत्रमा गएको पहिरोमा ज्यान गुमाएका साइमनको सम्झनामा प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष हिरा बाबु स्याङ्तानले बताए।
प्रतियोगिता खुल्ला फुटसल विधामा हुने छ। कार्यक्रम संयोजक विक्रम योन्जनका अनुसार विजेता टोलीले नगद एक लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ। साथै विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिनेछ।
समिति सदस्यसमेत रहेका साइमनका पिता हेम योन्जनले प्रतियोगिताले दिवंगत खेलाडीको स्मृतिलाई सुरक्षित राख्नुका साथै नयाँ पुस्तालाई खेलकुदप्रति आकर्षित गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा पहिचान र विकास गर्नेदेखि अनुशासन, भाईचारो र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्नेसम्मको लक्ष्य बोकेको छ।
प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमले पाँच हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ। प्रतियोगिता सञ्चालनका लागि मकवानपुरगढी गाउँपालिकाले पाँच लाख रुपैयाँ प्रायोजन गर्ने निर्णय गरेको आयोजक समितिले जनाएको छ।



