हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा शुक्रबार बिहान भएको आगलागीमा करिब दुई करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार स्थानीय लिलाराम जिम्बाको दुईतले पक्की घरमा रहेको किराना पसलमा बिहान करिब ७ः४५ बजे आगलागी भएको हो। आगलागीमा परी पसल सञ्चालक जिम्बा गम्भीर घाइते भएका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घर अगाडि बालेको दियोबाट पेट्रोलमा आगो सल्किँदा दुर्घटना भएको देखिएको छ। पसल सञ्चालकले पेट्रोलको ड्रमबाट तेल खन्याउने क्रममा ड्रम पल्टिएपछि आगो तीव्र रूपमा फैलिएको बताइएको छ।
आगो निभाउने क्रममा ४५ वर्षीय जिम्बाको दुवै हात र खुट्टा जलेका छन्। हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि उनलाई चुरेहिल अस्पताल हुँदै कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको प्रवक्ता अर्यालले जानकारी दिए। उनका अनुसार जिम्बाको शरीरको करिब ४० प्रतिशत भाग जलेको छ र अवस्था मध्यम छ।
दमकल, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा आएको थियो। घटनामा जिम्बाको दुईतले पक्की घर पूर्णरूपमा जलेको छ। साथै, घरभित्रको करिब १५ लाख रुपैयाँ नगद, ३० थान ग्यास सिलिन्डर, पेट्रोल, डिजेल, खाद्यान्न, लत्ताकपडा, फर्निचरलगायत सामग्री नष्ट भएका छन्।
आगलागीमा बा.प्र.०३–००६ प १८९७ नम्बरको पल्सर मोटरसाइकल तथा सामान किन्न आएका स्थानीय नारायणबहादुर स्याङ्तानको ना ४९ प १३ नम्बरको पल्सर मोटरसाइकल जलेका छन्। साथै एक कुकुरको बच्चाको समेत मृत्यु भएको प्रहरीले जनाएको छ।



