सोमबार बिहानैको धुपैलो घामसँगै सडकमा उत्रिएका थिए युवाहरू
आशा बोकेका, परिवर्तनको नारा बोकेका।
तिनीहरूका स्वर एकैचोटि गुञ्जिएका थिए
“हाम्रो भविष्य सुरक्षित गर!”
“भ्रष्टाचार बन्द गर!”
“सामाजिक सञ्जाल हाम्रो आवाज हो!”
तर, साँझ पर्न नपाउँदै त्यो स्वर च्यापियो—गोलीको आवाजले।
नारा लगाउने घाँटीहरू मौन भए, चिच्याउने हातहरू भुइँमा पसारिए।
प्रहरी, तिमीले देखेनौ?
रगतको पोखरीमा पल्टिएका
ती युवाहरू पनि तिम्रै छोरा–छोरी जस्तै थिए।
तिम्रो घरमा उस्तै उमेरका छोराछोरी पढिरहेका होलान्,
उनीहरूले पनि भोलिको भविष्यको सपना देखिरहेका होलान्।
तर सडकमा लडेका यी युवाहरूको भविष्य गोलीसँगै च्यातियो।
१९ जीवनहरू अकालमै समाप्त भए।
सयौँ घाइते भुइँमा चिच्याइरहे—
“आमा, म बच्ने हो कि?”
“डाक्टर सर, गोली निकालिदिनुहोस्!”
अस्पतालको भुइँमा रगतको लिसो जम्यो, शोकले भिजेको चिच्याहटले इमर्जेन्सी कक्ष हल्लियो।
गोली टाउको र छातीमा लागेका थिए
सुरक्षाको नाममा ज्यान लिने आदेश कसले दियो?
यी ‘जेनजी’ युवाहरू इन्टरनेटसँग हुर्केका पुस्ता हुन्।
सामाजिक सञ्जाल उनीहरूको स्वर हो, जीवन हो, अस्तित्व हो।
सरकारले त्यो स्वरमै ताल्चा लगायो
अनि उनीहरू सडकमा निस्किए।
कुनै समय टिकटकमा नाचेर रमाउने हातहरूले यसपटक
“सिस्टम परिवर्तन चाहिन्छ” भन्दै मुटु च्याप्दै चिच्याए।
तर पहिलो दिनमै उनीहरूको आन्दोलन रगताम्य पारियो।
प्रधानमन्त्री भन्छन् आन्दोलनमा घुसपैठ छ।
तर, प्रधानमन्त्रीजी,
यदि तपाईंका छोराछोरी यस्तै आन्दोलनमा हुन्थे, के उनीहरूले गोली खानुपर्थ्यो?
गृहमन्त्रीले नैतिक जिम्मेवारीसहित राजीनामा दिए,
तर त्यो आमा–बाबुको आँसु पूरिन्छ?
राष्ट्रपति संवेदना व्यक्त गर्छन्,
मानव अधिकार आयोग चेतावनी दिन्छ,
तर चिहानमा गाडिएका १९ शव उठ्छन्?
के यो हो लोकतन्त्रको तस्वीर?
जहाँ आवाजलाई चुप पार्न बन्दुक बोल्छ?
जहाँ युवा पुस्ताको रगतलाई राजनीतिक खेलको बलिदान बनाइन्छ?
सडकमा फैलिएको रगत अझै सुकिसकेको छैन।
तर नेताहरू सिंहदरबारभित्र सत्ता गणितमा व्यस्त छन्।
ज्ञानेन्द्र शाही भन्छन् “यो नरसंहार हो।”
रास्वपाले अर्ली निर्वाचनको माग गर्छ।
तर, आन्दोलनकारीको चिहान माथि बसेर तपाईंहरूको सत्ता–खेलले के अर्थ राख्छ?
‘जेनजी’ पुस्ता केवल सामाजिक सञ्जालका लागि लडिरहेको छैन।
उनीहरू पारदर्शिता खोज्छन्, स्वतन्त्रता खोज्छन्, खुलापन खोज्छन्।
तर पुरानो शैली, भ्रष्टाचार र नियन्त्रणको राजनीति
तिनीहरूलाई निराशाको गर्तमा धकेल्दैछ।
सोमबार केवल १९ जीवन समाप्त भएको दिन मात्र होइन।
त्यो एक पुस्ताको पीडा सडकमा रगतसँगै बगेको दिन हो।
आन्दोलन आजै सुरु भएको हो, अन्त्य होइन।
प्रहरी, फेरि भनन्
तिम्रा छोरा–छोरी छैनन्?
यदि उनीहरू सडकमा हुन्थे भने,
के तिमीले ट्रिगर थिच्थ्यौ?



