देशबागमती प्रदेशहेटौँडा क्याम्पसमा आईटीदेखि कानून र होटल व्यवस्थापनसम्म

हेटौँडा क्याम्पसमा आईटीदेखि कानून र होटल व्यवस्थापनसम्म

हेटौँडा । हेटौँडा क्याम्पसले बागमती विश्वविद्यालय सँगको सहकार्यमा आगामी शैक्षिक सत्रदेखि सूचना प्रविधि, व्यवस्थापन, कानून, होटल व्यवस्थापन तथा शिक्षा संकायअन्तर्गतका नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।

शुक्रबार क्याम्पसमा आयोजित पत्रकार अन्तरक्रियामा क्याम्पस प्रशासनले “नवीन शैक्षिक कार्यक्रम र करियरका अवसरहरू” विषयक कार्यपत्र सार्वजनिक गर्दै स्थानीय स्तरमै गुणस्तरीय र व्यावसायिक शिक्षा उपलब्ध गराउने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको जनाएको हो । क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धरका अनुसार नयाँ कार्यक्रममार्फत विद्यार्थीलाई आधुनिक ज्ञान, सीप र रोजगारीसँग जोड्ने उद्देश्य राखिएको छ ।

क्याम्पसले सूचना प्रविधि स्नातक, व्यवसाय प्रशासन स्नातक, पाँच वर्षे एकीकृत कानून स्नातक, तीन वर्षे कानून स्नातक, होटल व्यवस्थापन स्नातक तथा शिक्षाशास्त्र स्नातक कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । सूचना प्रविधि कार्यक्रमअन्तर्गत सफ्टवेयर निर्माण, डाटाबेस व्यवस्थापन, नेटवर्किङ र साइबर सुरक्षासम्बन्धी अध्ययन गराइनेछ भने व्यवसाय प्रशासन कार्यक्रममार्फत व्यवस्थापन, नेतृत्व तथा व्यावसायिक रणनीतिमा केन्द्रित शिक्षा प्रदान गरिने जनाइएको छ ।

त्यस्तै कानून कार्यक्रमले न्यायिक प्रणाली, संविधान तथा फौजदारी र दिवानी कानूनको अध्ययनमा जोड दिनेछ । होटल व्यवस्थापन कार्यक्रमले पर्यटन तथा आतिथ्य क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ भने शिक्षाशास्त्र स्नातक कार्यक्रमलाई दोहोरो मुख्य विषय, व्यावसायिक विषय र सूचना प्रविधिसहित आधुनिक तथा प्रविधिमैत्री बनाइएको क्याम्पसले जनाएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीले यी कार्यक्रम सञ्चालनमा आएपछि हेटौँडा शैक्षिक केन्द्रका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे । स्थानीय स्तरमै गुणस्तरीय शिक्षा उपलब्ध हुँदा विद्यार्थी बाहिरिने क्रम घट्ने, समय र खर्च बचत हुने तथा दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी सरोकारवालाहरूले पाठ्यक्रमको प्रभावकारिता, पूर्वाधार तयारी, दक्ष जनशक्ति व्यवस्थापन तथा बजारको मागअनुसारको शिक्षामा विशेष ध्यान दिन सुझाव दिएका थिए । कार्यक्रममा सहायक क्याम्पस प्रमुख डा. लिलानाथ ढुंगेल, डा. विजय नेपाल र प्राध्यापक अर्पण पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img