हेटौँडा । हेटौँडाबाट प्रकाशित समृद्ध समाज राष्ट्रिय दैनिकले सोमबार पठन संस्कृतिमाथि बहससहित आफ्नो १६औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। कार्यक्रममा पठन संस्कृतिको वर्तमान अवस्था, चुनौती र अभिभावकको भूमिकाबारे छलफल गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै सम्पादक सुरेश श्रेष्ठले छापा माध्यमको निरन्तरतामा पाठकको भूमिका निर्णायक रहेको उल्लेख गर्दै पठन संस्कृतिको विकासमा अभिभावक, विद्यालय र सामाजिक वातावरणले समान रूपमा योगदान गर्न आवश्यक रहेको बताए। उनले समृद्ध समाज दैनिकले सूचना, विचार र पाठकीय रुचि थप सुदृढ बनाउने लक्ष्यसहित पत्रकारिताको यात्रा निरन्तर अघि बढाइरहेको जानकारी पनि दिए ।
वार्षिकोत्सवको अवसरमा आयोजित ‘पठन संस्कृतिको विकासमा अभिभावकको भूमिका’ विषयक बहस कार्यक्रमको सहजीकरण समृद्ध समाजकी संवाददाता सुमिना चौलागाईले गरेकी थिइन्। बहसमा सेवानिवृत्त शिक्षक पुरनबहादुर जोशी, बाल संरक्षण विज्ञ सुशील राज गिरी, मनहरी गाउँपालिका–५ स्थित पशुपतिनाथ माविकी प्रधानाध्यापक सपना लामालगायतले पठन संस्कृतिमा बढ्दो चुनौती, डिजिटल माध्यमको प्रभाव, परिवार–विद्यालय सहकार्य र दीगो समाधानका उपायबारे आफ्ना विचार प्रस्तुत गरे।
बहसपछि सेवानिवृत्त शिक्षक भोगेन्द्र लुइटेलले समीक्षा प्रस्तुत गर्दै पठन अभ्यासनलाई दैनिकीमा समावेश गर्न आवश्यक उपायहरूमा जोड दिनुभयो। कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका अभिभावक र प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
त्यसैगरी दैनिकले वर्ष उत्कृष्ट कर्मचारीको रूपमा पेज डिजाइनर सोमकुमार श्रेष्ठलाई सम्मान पनि गरेको थियो।



