मकवानपुर । मकवानपुरगढी गाउँपालिका–५, धादिङस्थित शारदा माध्यमिक विद्यालयले आफ्नो स्वर्ण महोत्सव सोमबारबाट सुरु गरेको छ। साताव्यापी आयोजना गरिएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा मुख्यमन्त्री बानियाँले शिक्षा अब केवल पढाइका लागि नभई देशभित्र र विदेशमा जागिर पाउने क्षमता विकास गर्न आवश्यक भएको बताए। उनले प्राविधिक शिक्षा वर्तमान आवश्यकता भएको र त्यसका लागि विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रदेश सरकार तयार रहेको पनि जानकारी गराए।
कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान, निवर्तमान अध्यक्ष विदुर हुमागाई, उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली, विद्यालयका पूर्व अध्यक्ष बलराम घिमिरे लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
स्वर्ण महोत्सवको अवसरमा विद्यालयका शिक्षक तथा शिक्षिकालाई सम्मान समेत गरिएको छ। शारदा माध्यमिक विद्यालयले आफ्नो ५० वर्षे शैक्षिक यात्रालाई स्मरण गर्दै साताव्यापी उत्सव सञ्चालन गरिरहेको छ।



