हेटौँडा ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले सडक विस्तारमा बाधा पुर्याउनेलाई कारवाहीको दायरामा ल्याउने चेतावनी दिएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले हेटौँडा बजार क्षेत्रको सडक विस्तार कार्यमा अवरोध पुर्याउने र व्यवसायीहरूलाई धम्की दिने समूहलाई कारबाही गर्ने चेतावनी दिएको हो ।
बुधबार जारी गरिएको सूचनामा प्रशासनले सडक विस्तार रोक्ने, व्यवसायीहरूलाई धम्की दिने र विकास निर्माणमा बाधा पुर्याउने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइने उल्लेख गरेको छ।
सडक डिभिजन कार्यालय मकवानपुरले मंसिर ५ गते नै विस्तारका सबै तयारी पूरा भएको जानकारी गराएपछि हेटौँडा बजारका धेरैजसो व्यवसायीहरूले मंसिर २० भित्रै पसल अन्यत्र सार्ने, ‘सेल’ तथा विशेष अफर राखेर सामान बिक्री गर्ने जस्ता सहयोगी कदम चालिरहेका छन्। प्रशासनका अनुसार हेटौँडावासी र सरोकारवाला पक्षको उत्साहजनक सहभागिताले सडक विस्तार अभियानलाई राम्रो गति मिलिरहेको छ।
तर, केही व्यक्तिहरूले व्यवसायीहरूको सकारात्मक सहयोगलाई कमजोर पार्ने उद्देश्यले धाक–धम्की दिने, जबरजस्ती पसल बन्द गराउने र सडक विस्तारमा अवरोध सिर्जना गर्ने गतिविधि गरिरहेको प्रशासनले जनाएको छ।
प्रशासनले सूचनामा भनिएको छ, ‘सडक विस्तार कार्यमा अवरोध खडा गर्ने कुनै पनि गतिविधिप्रति पूर्ण सचेत छौँ। कानुन विपरीत कार्य नगर्न–नगराउन सबैलाई पुनः अनुरोध गर्दछौँ। अवरोध सिर्जना गर्ने व्यक्ति वा समूहलाई कडा कानुनी कारबाही गरिनेछ।’



