हेटौँडा | लिग चरणको सुरुवातमा दबाबमा देखिएको लुम्बिनी लायन्सले उत्कृष्ट पुनरागमन गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि जितेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनीले सिजनको सबैभन्दा प्रभावशाली जित दर्ता गर्यो।
लिग चरणका पहिलो चार खेलमध्ये तीनमा पराजय बेहोरेको लुम्बिनी त्यसपछि लगातार छ खेलमा जित निकाल्दै फाइनलसम्म पुगेको थियो। यही लयलाई फाइनलमा पनि कायम राख्दै टोलीले उपाधि उचाल्यो।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम कमजोर प्रदर्शनमा सीमित हुँदै ८६ रनमै अलआउट भयो। सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ८ ओभर ६ बलमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। जारी सिजनमा सबैभन्दा कम ओभरमा लक्ष्य पूरा भएको यो पहिलो खेल हो।
लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारी चम्किए। उनले १३ बलमा १ चौका र ५ छक्कासहित ४२ रन बनाए। कप्तान रोहित पौडेलले १६ रन जोडे भने डी आर्सी सर्टले १४ रन बनाए। सन्दीप जोरा शून्यमै आउट भए भने दिलिप नाथ १ रनमा अविजित रहे।
बलिङमा पनि सुदूरपश्चिम प्रभाव जमाउन असफल रह्यो। कप्तान दीपेन्द्र सिंह ऐरीले २ ओभरमा २९ रन खर्चिंदै १ विकेट लिए। स्कट कुगेलेइजन विकेटविहीन रहे। हर्मित धामीले सर्वाधिक २ विकेट लिए भने दीपेन्द्र र अभिनाश बोहोराले १–१ विकेट हात पारे।
सुदूरपश्चिम रोयल्स लगातार दोस्रो सिजन उपविजेतामै सीमित रह्यो। पहिलो सिजनमा पनि टोली फाइनलमा पराजित भएको थियो।
यसैबीच, एनपीएल सिजन–२ का उत्कृष्ट खेलाडी लुम्बिनी लायन्सका कप्तान रोहित पौडेल घोषित भए। पुरस्कारस्वरूप उनले ओमोडा ई–५ एसयूभी प्राप्त गरे, जसको बजार मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ।
सिजनमा तीन खेलाडीले बाइक पुरस्कार जिते। उत्कृष्ट बलर बन्दै विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले बाइक पाए। ‘बेस्ट राइजिङ प्लेयर’ घोषित लुम्बिनीका शेर मल्लले पहिलो पटक बाइक जिते। उत्कृष्ट ब्याटर बन्दै कप्तान रोहित पौडेलले अर्को बाइक पुरस्कार पनि हात पारे। सबै पुरस्कार नेपाल क्रिकेट संघले प्रदान गरेको हो।



