राजनीतिरवि–बालेनबीच ‘बृहत् एकता’ सहमति, भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन

रवि–बालेनबीच ‘बृहत् एकता’ सहमति, भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहबीच आज बिहान ‘बृहत् एकता’ सम्बन्धी ऐतिहासिक सहमति भएको छ। सहमति पत्रमा दुवै नेताले हस्ताक्षर गरेका छन्।

सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिका रूपमा रवि लामिछाने नै रहनेछन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाहलाई अघि सारिने भएको छ।

सहमति पत्रमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र सुशासन कायम गर्दै आम नागरिकका आकांक्षा सम्बोधन गर्ने साझा प्रतिबद्धता जनाइएको छ। भ्रष्टाचार र कुशासनविरुद्ध युवाहरूले सञ्चालन गरेका आन्दोलन, विशेष गरी भदौ २३ र २४ मा सम्पन्न जेन–जी आन्दोलनलगायत विभिन्न कालखण्डका जनआन्दोलनबाट उठेका आवाजलाई संस्थागत रूपमा अघि बढाउने सहमति भएको उल्लेख छ।

बृहत् एकतापछि पार्टीको संगठनात्मक संरचना थप सक्षम, समावेशी र फराकिलो बनाइने, सार्वजनिक छवि भएका युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई जिम्मेवारी दिने निर्णय पनि गरिएको छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घण्टी’मा गोलबद्ध भई अन्य परिवर्तनकामी, सुसंस्कृत राजनीतिक शक्ति, समूह तथा व्यक्तिहरूसँग सहकार्यका लागि आह्वान गर्ने सहमति भएको छ।

रास्वपा र बालेन शाहबीच सहकार्य तथा एकताका विषयमा लामो समयदेखि संवाद हुँदै आएको थियो। विशेष गरी गत हप्ता सोमबारदेखि दुवै नेताबीच निरन्तर औपचारिक तथा अनौपचारिक भेटघाट र छलफल भएको थियो। साझा राजनीतिक दृष्टिकोण, नेतृत्व संरचना र भावी कार्यदिशाबारे गहिरो विमर्शपछि अन्ततः यो सहमतिमा पुगिएको हो।

यस्तो छ रवि–बालेनबीच भएको सात बुँदे सहमति

  • राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने।
  • प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह हुने।
  • सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा आधारित बहुलवादी लोकतान्त्रिक प्रणालीमा सुशासन कायम गर्ने।
  • भ्रष्टाचार र कुशासनविरुद्धका जनआन्दोलन तथा जेन–जी आन्दोलनका मागलाई संस्थागत रूपमा कार्यान्वयन गर्ने।
  • पार्टी संगठनलाई थप सक्षम, समावेशी र प्रभावकारी बनाउने।
  • योग्य युवा अभियन्ता र अनुभवी विज्ञलाई नेतृत्व तथा जिम्मेवारीमा समेट्ने।
  • रास्वपाको सिद्धान्त, नेतृत्व र चुनाव चिह्न ‘घण्टी’मा गोलबद्ध भई अन्य परिवर्तनकामी शक्तिसँग सहकार्य गर्ने।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img