मकवानपुर | राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत बागमती प्रदेशमा ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेकपा (एमाले), नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट उम्मेदवार दर्ता भएका हुन्।
नेमकिपाबाट कविता महर्जन र विक्रम ढुकुछुले उम्मेदवारी दर्ता गराएका छन्। एमाले–कांग्रेस गठबन्धनबाट एमालेका प्रेमप्रसाद दगालले मनोनयन दर्ता गराएका छन् भने नेपाली कांग्रेसबाट गीता देवकोटाले उम्मेदवारी दिएकी छन्। यस्तै, नेकपाबाट प्रेमप्रसाद सापकोटा र सरोजकुमारी झाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन कार्यतालिकाअनुसार बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो। बागमती प्रदेशबाट दुई जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनेछन्। तीमध्ये एक जना महिला र एक जना अन्य समूहबाट चयन गरिने व्यवस्था छ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार बागमती प्रदेशसभा सदस्य ११० जना र प्रदेशका १३ जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुख २३८ जना गरी कुल ३४८ जना मतदाता रहेका छन्।
मतभारका आधारमा स्थानीय तहका प्रमुख तथा उपप्रमुखको कुल मतभार ४ हजार ५ सय २२ र प्रदेशसभा सदस्यको मतभार ५ हजार ८ सय ३० रहेको छ। यसरी जम्मा मतभार १० हजार ३ सय ५२ रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ। राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्न पाउने व्यवस्था छ।
राष्ट्रियसभा निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका–४ स्थित भूटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल तोकिएको छ। सो विद्यालयमा दुई वटा मतदान केन्द्र रहनेछन्। ‘बी’ ब्लकमा मतदान हुने र प्राविधिक भवनमा मतगणना गरिने प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ।
मतदान प्रक्रियाअनुसार प्रदेशसभा सदस्यले सेतो कागजमा हरियो रङको मसिले मतदान गर्नेछन् भने स्थानीय तहका प्रतिनिधिले रातो रङको मसिले मतदान गर्ने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकेको छ।
हाल बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य रहेका तत्कालीन नेकपा (माओवादी केन्द्र) की गंगाकुमारी बेलवासे र तत्कालीन नेकपा (एकीकृत समाजवादी) का बेदुराम भुषालको पदावधि २०८२ फागुनमा सकिन लागेकाले रिक्त हुने पदका लागि निर्वाचन हुन लागेको हो।



