काठमाडौँ | आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरिएको छ। प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी आवश्यक रहेको जानकारी बिहीबार प्रकाशित गरेको हो।
निर्वाचन सुरक्षामा खटिने इच्छुक व्यक्तिहरूले पुस २५ देखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन्। सार्वजनिक बिदाको दिन पनि दरखास्त बुझ्न सकिने प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले जनाएको छ।
काठमाडौँ उपत्यका स्थित तीनवटा जिल्ला प्रहरी परिसर र सबै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त फारम लिन र बुझाउने व्यवस्था गरिएको छ।
निर्वाचन प्रहरीमा भर्ना हुनका लागि उमेदवारले साधारण लेखपढ गर्न जान्नुपर्ने, १८ वर्ष पूरा भएको र ५४ वर्ष ननाघेको हुनुपर्ने शर्त राखिएको छ। माघ ५ देखि ९ गतेसम्म उम्मेदवारको छनोट प्रक्रिया हुने र माघ १२ मा अन्तिम नतिजा प्रकाशन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
छनोट भएका उम्मेदवारले माघ १५ देखि २४ गतेसम्म तालिम लिनुपर्नेछ। निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको रहनेछ। यस अवधिमा उनीहरूले ३४ हजार ७७६ रुपैयाँ तलब सुविधा पाउनेछन्। साथै, रासन र आउजाउ खर्चका लागि ८४६ रुपैयाँ थप तयारी खर्च प्रदान गरिनेछ।
निर्वाचन प्रहरीले चार दिनको लागि दैनिक ३०० रुपैयाँ दरले खाजा खर्च पाउनेछन् भने पोसाक बापत छुट्टै रकम पनि उपलब्ध गराइनेछ।
फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन हुने मिति घोषणा भइसकेको छ।



