निर्वाचनमकवानपुर–१ : भीड धेरै, तर लडाइँ केही पात्रबीच सीमित

मकवानपुर–१ : भीड धेरै, तर लडाइँ केही पात्रबीच सीमित

२३ उम्मेदवार भए पनि प्रतिस्पर्धा पाँच मुख्य पात्रमा सिमटिने संकेत

हेटौँडा | आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ मा राजनीतिमा निखारिएका अनुभवी नेतादेखि पहिलोपटक संसदीय चुनावमा होमिएका नयाँ अनुहारसम्मको रोचक भिडन्त हुने देखिएको छ। २३ जनाले उम्मेदवारी दर्ता गराएको यस क्षेत्रमा वास्तविक प्रतिस्पर्धा भने केही सीमित उम्मेदवार र राजनीतिक धारबीच केन्द्रित हुँदै गएको छ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यस क्षेत्रका मुख्य खेलाडीका रूपमा देखिएका छन्। त्यसबाहेक उज्यालो नेपाल पार्टी र श्रम संस्कृति पार्टीका उम्मेदवारहरूको पनि उपस्थिति छ, तर चुनावी समीकरणलाई निर्णायक रूपमा प्रभावित गर्ने लडाइँ कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डीना’, एमालेका रामेश्वर राना, राप्रपाका दीपक बहादुर सिंह, नेकपाका विजय गौतम र रास्वपाका प्रकाश गौतमबीच सिमटिने अनुमान गरिएको छ।

यी पाँचमध्ये कांग्रेसकी डीना, एमालेका राना र राप्रपाका सिंह राजनीतिमा खारिएका अनुहार हुन् भने नेकपाका विजय गौतम र रास्वपाका प्रकाश गौतम संसदीय राजनीतिका लागि नयाँ अनुहार मानिन्छन्। यही अनुभवी र नयाँ पुस्ताबीचको द्वन्द्वले मकवानपुर–१ लाई यसपटक विशेष अर्थ दिएको छ।

कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डीना’ यो निर्वाचनलाई आफ्नो राजनीतिक यात्राको निर्णायक मोडका रूपमा हेरेकी छन्। दोस्रो महाधिवेशनअघि नेपाली कांग्रेसको सह–महामन्त्रीको जिम्मेवारी सम्हालिसकेकी डीना पार्टी राजनीतिमा प्रभावशाली मानिन्छिन्। तर जननिर्वाचनमा भने उनी सधैँ कठिन परीक्षाबाट गुज्रिँदै आएकी छिन्। यो उनको पाँचौँ संसदीय प्रतिस्पर्धा हो। यसअघि चारवटा निर्वाचनमा पराजित भएकी डीना दुई पटक समानुपातिक सांसद बनेर राज्यमन्त्रीसमेत भएकी थिइन्।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार बनेकी डीना राप्रपाका दीपक बहादुर सिंहसँग पराजित भएकी थिइन्। गठबन्धन हुँदाहुँदै हार व्यहोर्नुपरेपछि उनले कांग्रेसभित्रकै केही नेताले आफूलाई हराउन भूमिका खेलेको आरोप लगाएकी थिइन्। तर यसपटक भने उनले समानुपातिक छोडेर प्रत्यक्ष प्रतिस्पर्धा रोजेकी छन्। मकवानपुर कांग्रेस संगठन बलियो बनेको दाबी गर्दै उनले यसपटक जीत सुनिश्चित हुने बताउँदै आएकी छन्। बागमती प्रदेश कांग्रेस सभापति ईन्द्रबहादुर बानियाँको खुलेको साथले उनको उम्मेदवारीलाई थप राजनीतिक बल मिलेको कांग्रेस नेताहरूको विश्लेषण छ।

यता, एमालेका रामेश्वर राना यस क्षेत्रका सबै उम्मेदवारमध्ये सबैभन्दा निखारिएका र पाका नेता मानिन्छन्। तत्कालीन मालेदेखि राजनीतिमा सक्रिय राना शालिन, त्यागी र संगठन बुझ्ने नेताको छवि बनाएका छन्। २०७९ को निर्वाचनमा जिल्ला कमिटीले उनलाई उम्मेदवार सिफारिस गरे पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन राप्रपा नेपालका अध्यक्ष कमल थापालाई एमालेको चुनाव चिह्न दिएपछि राना ‘ब्याक’ भएका थिए।

त्यस निर्णयपछि पार्टी कार्यालयमा ताला लगाउनेसम्मको विवाद उत्पन्न भए पनि थापाले २५ हजार ४२० मत प्राप्त गरेका थिए। यही मतलाई आधार मानेर यसपटक आफ्नै नेता उम्मेदवार पाएको एमालेले मकवानपुर–१ मा आफ्नो पुरानो विरासत फिर्ता ल्याउने रणनीति बनाएको छ। जिल्ला विकास समितिको सभापतिको अनुभव भए पनि संसदीय यात्रामा भने रानाको यो पहिलो प्रयास हो। गठबन्धनविहीन प्रतिस्पर्धामा एमाले एक्लै चुनाव लड्दा रानाकै जीत हुने पार्टी नेताहरूको दाबी छ।

राप्रपाबाट उम्मेदवार बनेका दीपक बहादुर सिंह २०७९ को निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए। पटक–पटक चुनावमा पराजित हुँदै आएका सिंहको त्यो पहिलो जीत थियो। उनले २७ हजार ८१६ मत ल्याएर गठबन्धनकी उम्मेदवार डीनालाई २ हजार ३८२ मतान्तरले पराजित गरेका थिए। गत निर्वाचनकै विरासत जोगाउने उद्देश्यसहित सिंह यसपटक पनि सक्रिय दौडधुपमा छन्। कांग्रेसभित्रको असन्तुष्टि र संगठनात्मक कमजोरीले आफूलाई फाइदा पुगेको विश्लेषण उनीनिकट नेताहरूको छ।

नेकपाबाट उम्मेदवार बनेका विजय गौतम भने मकवानपुरे मतदाताका लागि नयाँ अनुहार हुन्। नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुँदा प्रमुख स्वकीय सचिवको जिम्मेवारी सम्हालेका गौतम केन्द्रको नेतृत्वको बलमा टिकट पाएको भन्दै जिल्लास्थित नेकपाका केही नेताहरू असन्तुष्ट देखिन्छन्। यद्यपि पार्टीले युवा उम्मेदवारका कारण युवा मतदाता आकर्षित हुने आकलन गरेको छ। संसदीय निर्वाचन प्रक्रियामा गौतमको यो पहिलो सहभागिता हो। जेन–जी आन्दोलनपछि मतदाताले नयाँ अनुहार खोजेको दाबी गर्दै उनी चुनावी मैदानमा छन्।

यी सबैका लागि साझा चुनौती भने रास्वपा बनेको देखिन्छ। पछिल्लो समय ‘घण्टी’को बढ्दो लोकप्रियताका कारण रास्वपाका उम्मेदवार प्रकाश गौतम ठूला दलका लागि चुनौती बन्न सक्ने आकलन गरिएको छ। रास्वपा मकवानपुरका उपसभापति समेत रहेका गौतम होटल व्यवसायी हुन् र पार्टी संगठन विस्तारमा सक्रिय देखिन्छन्। अघिल्लो निर्वाचनमा मकवानपुरका दुवै क्षेत्रमा उम्मेदवार उठाए पनि रास्वपाले प्रत्यक्षतर्फ जीत निकाल्न सकेको थिएन। तर समानुपातिकतर्फ भने १ लाख ७७ हजार ८५८ कुल मतमध्ये २९ हजार ८८९ मत प्राप्त गर्दै जिल्लामै तेस्रो स्थानमा थियो।

त्यस निर्वाचनमा समानुपातिकतर्फ एमाले पहिलो र कांग्रेस दोस्रो भएका थिए। यही आधारलाई प्रत्यक्षमा रूपान्तरण गर्ने रणनीतिसहित रास्वपाले वडा–वडासम्म संगठन विस्तार गरेको छ। यसैले मकवानपुर–१ मा प्रकाश गौतम परम्परागत दलका उम्मेदवारका लागि ‘कट–भोट’ होइन, प्रत्यक्ष चुनौतीका रूपमा देखिन थालेका छन्।

इतिहास हेर्दा मकवानपुर–१ २०७९ अघि एमालेले निरन्तर जित्दै आएको क्षेत्र हो। २०७४ मा एमालेका कृष्णप्रसाद दाहाल विजयी भएका थिए भने २०७९ मा कमल थापालाई चुनाव चिह्न दिँदा एमालेले हार भोगेको थियो।

समग्रमा हेर्दा, मकवानपुर–१ को निर्वाचन अनुभवी र नयाँ अनुहार, संगठन र असन्तोष, तथा परम्परागत दल र वैकल्पिक शक्तिबीचको प्रत्यक्ष भिडन्त बनेको छ। उम्मेदवार धेरै भए पनि अन्तिम प्रतिस्पर्धा केही सीमित पात्रबीच केन्द्रित हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img