देशबागमती प्रदेशनिर्वाचन मौन अवधिमा होली : मकवानपुरमा भीडभाड हुने कार्यक्रम नगर्न प्रशासनको आग्रह

निर्वाचन मौन अवधिमा होली : मकवानपुरमा भीडभाड हुने कार्यक्रम नगर्न प्रशासनको आग्रह

हेटौँडा | आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तथा मौन अवधिभित्र फागुन १८ र १९ गते होली (फागुपूर्णिमा) परेकाले जिल्ला प्रशासन कार्यालय मकवानपुरले भीडभाड हुने गरी पर्व नमनाउन आग्रह गरेको छ। प्रशासनले निर्वाचन आचारसंहिता र सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आपसी सद्भाव, शान्ति र सौहार्दपूर्ण वातावरणमा मर्यादित ढंगले होली मनाउन आह्वान गरेको हो।

बिहीबार सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरसहित जारी सूचनामा होलीलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले सभ्य, अनुशासित र संयमित तरिकाले मनाउन अनुरोध गरिएको छ। पर्वका क्रममा निर्वाचन सुरक्षामा असर पर्ने कुनै पनि गतिविधि नगर्न र नगराउन राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, धार्मिक संघसंस्था, आमनागरिक तथा सरोकारवालालाई प्रशासनले सचेत गराएको छ।

प्रशासनले होलीको दिन भीडभाड हुने कार्यक्रम नगर्न र यदि अनिवार्य कार्यक्रम गर्नै परे जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने जनाएको छ। पर्व मनाउने नाममा कसैको इच्छाविपरीत जबरजस्ती रङ दल्ने, अमर्यादित वा उच्छृङ्खल व्यवहार गर्ने, मादक तथा नशालु पदार्थ सेवन गर्ने वा सेवन गरेर सवारी साधन चलाउने, सार्वजनिक स्थलमा होहल्ला गर्ने तथा चर्को आवाजमा बाजा वा डिजे बजाउनेजस्ता गतिविधि नगर्न आग्रह गरिएको छ। साथै पटाका पड्काउने, आतसबाजी गर्ने र छरछिमेकलाई असर पर्ने कार्य नगर्न पनि प्रशासनले चेतावनी दिएको छ।

निर्वाचन आचारसंहिता २०८२ को पूर्ण पालना गर्न आग्रह गर्दै प्रशासनले आचारसंहिता उल्लङ्घन भएको जानकारी उपलब्ध गराउनसमेत अनुरोध गरेको छ। प्रचलित कानुन तथा निर्वाचन आचारसंहिता विपरीत कुनै कार्य गरेको वा गराएको पाइएमा कडाभन्दा कडा कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img