बागमती प्रदेशमकवानपुरहेटौँडामा घुससहित अधिकृत र बिचौलिया पक्राउ

हेटौँडामा घुससहित अधिकृत र बिचौलिया पक्राउ

हेटौँडा | हेटौँडास्थित यातायात व्यवस्था कार्यालयका एक जना अधिकृत र एक बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ। सवारी सरुवा सहमतिको कामका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले उनीहरूलाई रङ्गेहात पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट खटिएको टोलीले यातायात कार्यालयमा कार्यरत छैटौँ तहका अधिकृत अमृत भेटुवाल र बिचौलियाका रूपमा काम गर्दै आएका लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई नियन्त्रणमा लिएको जनाएको छ। पौडेलले सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा हेटौँडा उपमहानगरपालिका–११ स्थित कार्यालय परिसरबाटै दुवै जनालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

पक्राउ परेकाहरूको साथबाट तीन थान मोबाइल सेटसमेत बरामद गरिएको छ। सेवाग्राहीको काम गरिदिने बहानामा रकम लेनदेन भइरहेको उजुरी परेपछि अख्तियारले केही समयदेखि उनीहरूमाथि निगरानी बढाएको थियो। पक्राउ परेका दुवै जनालाई हाल हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img