हेटौँडा । हेटौँडाको टिसिएन चौरमा आयोजना हुने दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सव–२०८२ भोलि फागुन २९ गतेदेखि सुरु हुँदैछ। मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुन लागेको महोत्सवमा विभिन्न खेलकुद प्रतियोगितासँगै दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
महोत्सवअन्तर्गत ६ वटा विधामा खेलकुद प्रतियोगिता सञ्चालन हुनेछन्। फागुन २९ र ३० गते जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिता तथा फागुन २९ गते नै जिल्लास्तरीय महिला र पुरुष १० किलोमिटर दौड प्रतियोगिता आयोजना हुनेछ। त्यसपछि चैत्र १ देखि ३ गतेसम्म जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता, चैत्र ४ देखि ८ गतेसम्म राष्ट्रिय महिला भलिबल प्रतियोगिता, चैत्र ९ र १० गते जिल्लास्तरीय कराँते प्रतियोगिता तथा चैत्र ११ देखि १३ गतेसम्म तेक्वान्दोको राष्ट्रिय प्रतियोगिता सञ्चालन हुने मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए।
महोत्सव अवधिभर दैनिक चर्चित कलाकारले सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय गरिएको छ। चैत्र १ गते जिबब, चैत्र २ गते मेलिना राई, चैत्र ३ गते साईमा श्रेष्ठ, चैत्र ४ गते सबिन राई एन्ड प्याराओ, चैत्र ५ गते हेमन्त शर्मा, चैत्र ६ गते ज्योति मगर, चैत्र ७ गते प्रिती आले मगर, चैत्र ८ गते उर्गेन दोङ एन्ड जम्बूलिङ, चैत्र ९ गते रचना र प्रिती पासवान, चैत्र १० गते समीक्षा अधिकारी, चैत्र ११ गते शिव परियार, चैत्र १२ गते टिका प्रसाई, चैत्र १३ गते शान्ति रानी परियार तथा एसटी म्यान र चैत्र १४ गते शान्ति श्री परियारले प्रस्तुति दिने कार्यक्रम रहेको छ। यसबाहेक अन्य स्थानीय कलाकार तथा लोकदोहोरी गायक–गायिकाले पनि महोत्सवमा प्रस्तुति दिनेछन्।
चैत्र १४ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिब ४ सय व्यावसायिक स्टल रहनेछन्। खेल, व्यापार, कृषि र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।



