हेटौँडा | फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले करिब दुई तिहाइ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ। १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये रास्वपाले १२५ सिट जितेको छ। यससँगै नेपाली कांग्रेस ३८ सिटमा सीमित हुँदै प्रमुख प्रतिपक्षमा पुगेको छ।
प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये कांग्रेस ८४ स्थानमा दोस्रो भए पनि ६३ क्षेत्रमा मुख्य प्रतिस्पर्धी बन्न असफल भएको छ। यस निर्वाचनमा कांग्रेसका उम्मेदवार १८ निर्वाचन क्षेत्रमा जमानत जफत भएका छन्। झापा–२, झापा–३, झापा–५, सुनसरी–१, सप्तरी–१, सप्तरी–२, सिराहा–४, महोत्तरी–१, महोत्तरी–३, सर्लाही–२, सर्लाही–३, रौतहट–३, बारा–४, काठमाडौँ–७, काठमाडौँ–८, भक्तपुर–१, चितवन–३ र रूपन्देही–३ मा कांग्रेस उम्मेदवारले जमानत जोगाउन सकेनन्।
१६३ क्षेत्रमा उम्मेदवारी दिएको रास्वपाले जितेका १२५ सिटमध्ये ७३ स्थानमा कांग्रेस दोस्रो बनेको छ। कांग्रेसले जितेका १८ सिटमध्ये ८ स्थानमा एमाले, ६ स्थानमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तथा २–२ स्थानमा रास्वपा र श्रम संस्कृति पार्टी दोस्रो बनेका छन्। २०७९ को निर्वाचनमा कांग्रेस प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटसहित पहिलो दल बनेको थियो। तर यसपटक प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी ३८ सिटमा सीमित भएको छ।
एमालेको अवस्था पनि कमजोर देखिएको छ। प्रत्यक्षतर्फ ९ सिटमा खुम्चिएको एमाले उम्मेदवार उठाएको १६४ क्षेत्रमध्ये ४१ स्थानमा मात्र दोस्रो भएको छ। रास्वपाले जितेका १२५ सिटमध्ये २७ स्थानमा एमाले दोस्रो बनेको छ भने एमालेले जितेका ९ सिटमध्ये २ स्थानमा रास्वपा दोस्रो भएको छ। कांग्रेसले जितेका १८ सिटमध्ये ८ र नेकपाले जितेका ३ सिटमध्ये पनि एमाले दोस्रो बनेको छ। स्वतन्त्र उम्मेदवार महावीर पुनले जितेको म्याग्दीमा पनि एमाले दोस्रो भएको छ भने श्रम संस्कृति पार्टीले जितेका २ स्थानमा पनि एमाले दोस्रो बनेको छ। एमालेका ४९ निर्वाचन क्षेत्रमा उम्मेदवारको जमानत जफत भएको छ। २०७९ को निर्वाचनमा प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ गरी ७८ सिटसहित दोस्रो दल बनेको एमाले अहिले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ गरी २५ सिटमा सीमित भएको छ।
नेकपाको अवस्था पनि कमजोर देखिएको छ। १९ वटा कम्युनिस्ट घटक मिलेर बनेको नेकपा ८ स्थानमा मात्र प्रत्यक्ष जित निकाल्न सफल भएको छ। १७ स्थानमा दोस्रो भएको नेकपाका उम्मेदवार ९९ क्षेत्रमा जमानत जफत भएका छन्। रास्वपाले जितेका १२५ सिटमध्ये १० स्थानमा नेकपा दोस्रो बनेको छ भने कांग्रेसले जितेका १८ मध्ये ६ स्थानमा नेकपा दोस्रो भएको छ। एमालेले जितेका कुनै पनि क्षेत्रमा भने नेकपा दोस्रो बन्न सकेन। २०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ १४ गरी ३२ सिट ल्याएको थियो। तर अहिलेको नेकपा प्रत्यक्षमा ८ र समानुपातिकमा ९ गरी १७ सिटमा सीमित भएको छ।
जसपा कुनै सिट जित्न नसके पनि ६ स्थानमा दोस्रो बनेको छ। यसअघि जसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ५ गरी १२ सिट जितेको थियो। सीके राउत नेतृत्वको जनमत पार्टीले २०७९ मा प्रत्यक्षतर्फ १ र समानुपातिकतर्फ ५ गरी ६ सिट जितेको थियो। त्यस्तै लोकेन्द्रवादी समाजवादी पार्टी (लोसपा) ले प्रत्यक्षतर्फ ४ सिट र नागरिक उन्मुक्ति पार्टीले ३ सिट जितेका थिए। थ्रेसहोल्ड पार गर्न नसकेका राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक–एक सिट जितेका थिए।
यसपटक हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ४ गरी ७ सिटसहित संसदमा प्रवेश गरेको छ। २०७९ मा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ७ गरी १४ सिट जितेको राप्रपा अहिले प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी ५ सिटमा खुम्चिएको छ।
२०७९ को निर्वाचनमा मोरङ–५ बाट योगेन्द्र मण्डल, सर्लाही–४ बाट अमरेशकुमार सिंह, रौतहट–२ बाट किरणकुमार साह, रौतहट–३ बाट प्रभु साह र बर्दिया–२ बाट लालवीर चौधरी स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका थिए। तर यसपटक रास्वपाको समर्थन पाएका महावीर पुन बाहेक कुनै पनि स्वतन्त्र उम्मेदवार विजयी हुन सकेनन्। प्रभु साह नेतृत्वको आम जनता पार्टी पनि यसपटक जितविहीन भएको छ।
रास्वपाले जितेका १२५ सिटमध्ये कांग्रेस ७३, एमाले २७, नेकपा १०, जसपा ६, श्रम संस्कृति पार्टी २ तथा राप्रपा, उज्यालो नेपाल पार्टी, नेपाल मजदुर किसान पार्टी, नेपाल समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वाभिमान पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा दोस्रो भएका छन्। रास्वपाले जित्न नसकेका ४० निर्वाचन क्षेत्रमध्ये ६ स्थानमा भने रास्वपा दोस्रो बनेको छ।
यद्यपि रास्वपाको लहरका बाबजुद १३ निर्वाचन क्षेत्रमा उसका उम्मेदवारको जमानत जफत भएको छ। रुकुम पूर्व, जुम्ला, अछाम–१, डोल्पा, मुगु, कालिकोट, हुम्ला, जाजरकोट, रुकुम पश्चिम, पाँचथर, सोलुखुम्बु र खोटाङमा रास्वपाका उम्मेदवारले जमानत जोगाउन सकेनन्। मनाङ र मुस्ताङमा भने रास्वपाले उम्मेदवारी दिएको थिएन।



