हेटौँडा । चिकित्सा शिक्षा अध्ययनका लागि काठामाडौं वा अन्य शहर धाउनुपर्ने बाध्यता क्रमशः घट्दै गएको संकेत हेटौँडाबाट देखिएको छ। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मा सुरु भएको एमबीबीएस कार्यक्रमले पहिलो वर्षमै देशभरका विद्यार्थीलाई आकर्षित गरेको छ।
प्रतिष्ठानले यसै वर्षबाट सुरु गरेको एमबीबीएस कार्यक्रमको पहिलो व्याचमा ५० सिटमध्ये ४७ जना विद्यार्थी भर्ना भइसकेका छन्, जसमा ४ जना विदेशी विद्यार्थीसमेत छन्। बाँकी ४३ नेपाली विद्यार्थी देशका २८ जिल्लाबाट आएका छन्, जसले हेटौँडालाई नयाँ शैक्षिक हबका रूपमा स्थापित गर्ने संकेत दिएको छ।
विद्यार्थीको विविधताले पनि कार्यक्रमको प्रभाव देखाएको छ। काठमाडौँ, ललितपुरजस्ता सहरी जिल्लादेखि डोल्पा, बाजुरा, दार्चुलाजस्ता दुर्गम जिल्लासम्मका विद्यार्थी एउटै कक्षामा अध्ययनरत छन्। त्यस्तै छिमेकी भारत का महाराष्ट्र र बिहारबाट आएका विद्यार्थीको सहभागिताले प्रतिष्ठानको अन्तर्राष्ट्रिय आकर्षणसमेत देखाउँछ।
प्रशासनका अनुसार भर्ना प्रक्रिया औपचारिक रूपमा सकिए पनि इच्छुक विद्यार्थीसँग अझै सम्पर्क भइरहेकाले संख्या थप बढ्न सक्ने सम्भावना छ।
शैक्षिक पूर्वाधारतर्फ हेर्दा, पहिलो दुई वर्ष आधारभूत विज्ञान अध्ययनका लागि २१ जना अध्यापक रहेका छन् भने क्लिनिकल अध्ययनका लागि ५३ जना विशेषज्ञसहितको टोली तयार छ। यसबाहेक, प्रतिष्ठानमा एमबीबीएस मात्र नभई बिपिएच, बिएमएलटी, बिएस्सी नर्सिङ र बि फार्मेसी कार्यक्रमसमेत सञ्चालनमा छन्, जसका लागि कुल १०१ जना प्राध्यापक कार्यरत छन्।
गत फागुन २५ गते औपचारिक रूपमा सुरु गरिएको कार्यक्रमअन्तर्गत प्रारम्भिक एक हप्ताको आधारभूत कक्षापछि अहिले नियमित पढाइ सुरु भइसकेको छ।



