समाजविज्ञापन वितरणमा विभेद हटाउने सरकारको संकेत

विज्ञापन वितरणमा विभेद हटाउने सरकारको संकेत

हेटौँडा । डा. विक्रम तिमल्सिनाले सरकारी विज्ञापनलाई नियमन गरी थप व्यवस्थित बनाइने बताएका छन्।

नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै संचार तथा प्रविधि मन्त्री तिमल्सिनाले सञ्चार क्षेत्र र सरकारबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले साना तथा स्वरोजगारमुखी सञ्चारमाध्यमका समस्या समाधानप्रति सरकार सकारात्मक रहेको पनि स्पष्ट पारे।

महासंघका बागमती प्रदेश अध्यक्ष कृष्ण सारु मगरका अनुसार मन्त्री तिमल्सिनाले भने, “सरकारी विज्ञापन नियमन र व्यवस्थित गर्छौं। स्थानीय तहका विज्ञापन सूचना सबैले पाउँछन्, तर व्यवस्थित गर्न केही समय लाग्छ। सञ्चार जगत् र सरकार मिलेरै अघि बढ्ने हो।”

अध्यक्ष सारु मगरको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले मन्त्रीलाई भेटी सफल कार्यकालको शुभकामनासहित ६ बुँदे ज्ञापनपत्र बुझाएको हो। उक्त ज्ञापनपत्र दोलखाको पर्यटकीय स्थल जिरीमा गत चैत २७ र २८ गते सम्पन्न बैठकका साझा धारणा समेटेर तयार पारिएको बताइएको छ।

ज्ञापनपत्रमा सरकारी विज्ञापन प्रकाशन–प्रसारणमा देखिएको अनियमितता तथा भ्रष्टाचार नियन्त्रणका लागि भइरहेका प्रयासको स्वागत गर्दै त्यसभित्रका विकृतिको निष्पक्ष छानबिन गर्न माग गरिएको छ। साथै, सरकारी र निजी सञ्चारमाध्यमबीच विज्ञापन वितरणमा कुनै विभेद नगर्न र श्रमजीवी पत्रकारद्वारा सञ्चालित साना तथा स्वरोजगारमुखी मिडियाको प्रवर्द्धनका लागि ‘पूर्ण समानुपातिक विज्ञापन नीति’ तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखिएको छ।

त्यस्तै, स्थानीय तहबाट प्रवाह हुने सूचना तथा जनचेतनामूलक सन्देश अनिवार्य रूपमा स्थानीय सञ्चारमाध्यममार्फत नै प्रकाशन–प्रसारण हुने व्यवस्था मिलाउन तीनै तहका सरकारलाई आग्रह गरिएको छ।

महासंघले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि गतिविधि नगर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रदेश र संघीय तहबीच समन्वय गरी सञ्चारमाध्यम दर्तासम्बन्धी विद्यमान अन्योलता तत्काल समाधान गर्न पनि माग गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img