हेटौँडा | मकवानपुरको मनहरी गाउँपालिका–२ भुन्द्रुब टाँडीमा गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले व्यक्तिगत खर्च व्यहोरेर सडक ढलान गरेका छन्।
अध्यक्ष कालाखेतीले आफूले पाउने तलब–भत्ता र सेवा–सुविधाबाट बचत गरिएको रकम प्रयोग गर्दै वडा कार्यालय भुन्द्रुब टाँडीदेखि कर्मचोकसम्म जोड्ने करिब २०० मिटर सडकमा स्ल्याब ढलान गराएका हुन्। यसका लागि करिब २० लाख रुपैयाँ खर्च भएको गाउँपालिकाका प्राविधिक टुकराज चौधरीले जानकारी दिए।
गत कात्तिक २९ गते औपचारिक कार्यक्रमबीच व्यक्तिगत लगानीमा सडक ढलान गर्ने घोषणा गरेका कालाखेतीले सोही अनुसार निर्माण कार्य अघि बढाएका थिए। ढलान गरिएको सडकको चौडाइ ६ मिटर रहेको छ।
मनहरीका ९ वडामध्ये सबैभन्दा दुर्गम मानिने वडा नम्बर–२ का स्थानीयले खानेपानी, शिक्षा, स्वास्थ्य र सडकजस्ता आधारभूत सेवामा अझै समस्या भोग्दै आएको अध्यक्ष कालाखेतीले बताए। “स्थानीयहरू दैनिकजसो यस्ता समस्या लिएर पालिका आउने गर्छन्,” उनले भने, “त्यसैले दीर्घकालदेखि पक्की सडकको पर्खाइमा रहेका यहाँका बासिन्दाको आवश्यकतालाई ध्यानमा राखेर यो काम सुरु गरिएको हो।”
विहीबार नवनिर्मित सडकको उद्घाटन गर्दै उनले जनप्रतिनिधिले पारदर्शी ढंगले सेवा दिनुपर्नेमा जोड दिए। “जनप्रतिनिधि बनेपछि बजेट दुरुपयोग र कमिसनको आरोप लाग्ने प्रवृत्तिलाई अन्त्य गर्न चाहन्छु,” उनले भने, “आफ्नो कार्यकाल उदाहरणीय बनाउने लक्ष्यका साथ काम गरिरहेको छु।”
वडा अध्यक्ष राजकुमार पाख्रिनले वडा कार्यालय जोड्ने सडक कच्ची हुँदा स्थानीयले वर्षौंदेखि सास्ती खेप्दै आएको उल्लेख गर्दै सडक ढलानले आवतजावत सहज बनाउने बताए। उनले विभिन्न सडक निर्माणमा अध्यक्ष कालाखेतीको योगदान उल्लेखनीय रहेको भन्दै धन्यवाद व्यक्त गरे।



