हेटौँडा । हेटौँडा स्कूल अफ म्यानेजमेन्ट ले कक्षा–११ को शिक्षाशास्त्र संकायमा निशूल्क पठनपाठन कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयले नेपाली, अंग्रेजी र गणित मूल विषय अध्ययन गर्ने गरी ३० जना विद्यार्थीलाई निशूल्क अध्ययनको अवसर प्रदान गरिने जनाएको हो।
विद्यालयका प्रिन्सिपल पुरनबहादुर जोशीका अनुसार शिक्षा क्षेत्रमा दक्ष शिक्षक जनशक्तिको अभाव देखिएकाले गत वर्षदेखि उक्त कार्यक्रम सुरु गरिएको हो। कार्यक्रममा नवोदय शिशु सदन र नवोदय इनोभेसन सेन्टरसँगको सहकार्य रहेको विद्यालयले जनाएको छ। गत वर्ष अंग्रेजी र गणित विषयमा ९/९ जना तथा नेपाली विषयमा ४ जना विद्यार्थी अध्ययनरत रहेका थिए। विद्यालयले कोटा ३० जनाको भए पनि विद्यार्थी संख्या अपेक्षाअनुसार नपुगेको जनाएको छ।
विद्यालयले आगामी वर्षदेखि स्नातक तहमा समेत शिक्षाशास्त्र संकायअन्तर्गत निशूल्क अध्ययन कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जनाएको छ। शिक्षाशास्त्र संकायकी संयोजक रमिता दर्लामीले पठनपाठनलाई व्यवहारिक र सीपमुखी बनाइएको बताउँदै विद्यार्थीलाई ल्याब स्कुलका रूपमा प्रयोग गरिएको नवोदय शिशु सदनमा अभ्यासको अवसर दिइँदै आएको बताइन्। साथै, शिक्षक तालिम, कार्यशाला, गोष्ठी तथा सम्मेलनमा पनि विद्यार्थीलाई सहभागी गराइँदै आएको उनको भनाइ छ।
विद्यालयका योजना तथा विकास निर्देशक दिपेश जोशीले बदलिँदो शैक्षिक आवश्यकताअनुसार नयाँ शैलीका शिक्षक उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। गत वर्ष भर्ना भएकी विद्यार्थी अक्शा कार्कीले अध्ययन सुरु गरेको तीन महिनामै पूर्वप्राथमिक तहको कक्षा सञ्चालन गर्न सक्ने आत्मविश्वास र सीप विकास भएको बताइन्। उनले परम्परागत शैलीभन्दा फरक अभ्यास, खोज र समस्या समाधानमा आधारित शिक्षण पद्धतिले आफूलाई सक्षम बनाएको उल्लेख गरिन्।



