हेटौँडा । बागमती प्रदेशका १३ जिल्लामध्ये मकवानपुर धान रोपाइँमा सबैभन्दा अगाडि देखिएको छ। कृषि विकास निर्देशनालय, हेटौँडाका अनुसार मकवानपुरमा हालसम्म ७६.८३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ।
निर्देशनालयका अनुसार मकवानपुरमा ८ हजार ४९२.५ हेक्टर क्षेत्रफलमा धान खेती हुने लक्ष्य रहेकोमा हालसम्म ६ हजार ५२३.५ हेक्टर क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ। मनसुन सक्रिय भएपछि जिल्लाका अधिकांश क्षेत्रमा किसान रोपाइँमा व्यस्त भएका छन्।
बागमती प्रदेशभर भने औसतमा ४३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। प्रदेशमा १ लाख ८ हजार ४३४ हेक्टर क्षेत्रमा धान खेती गर्ने लक्ष्य रहेकोमा हालसम्म ४६ हजार ६७९ हेक्टर क्षेत्रमा रोपाइँ भएको कृषि विकास निर्देशनालयले जनाएको छ।
प्रदेशको प्रमुख धान उत्पादन क्षेत्र चितवनमा हालसम्म ३४.८ प्रतिशत मात्र रोपाइँ भएको छ। चितवनमा २० हजार ३७५.४ हेक्टर धान खेती हुने क्षेत्रमध्ये ७ हजार ९० हेक्टरमा रोपाइँ सम्पन्न भएको हो।
काठमाडौँमा ७० प्रतिशत, ललितपुर र भक्तपुरमा ६५/६५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। यस्तै दोलखामा ५८ प्रतिशत, सिन्धुलीमा ४८.९१ प्रतिशत, काभ्रेपलाञ्चोकमा ३८.२ प्रतिशत, रामेछापमा २४ प्रतिशत, धादिङमा २२ प्रतिशत, सिन्धुपाल्चोकमा २१.१ प्रतिशत, नुवाकोटमा १६ प्रतिशत र रसुवामा १२ प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ।
कृषि विकास निर्देशनालयका निर्देशक नारायणकुमार श्रेष्ठले मनसुन सक्रिय भएसँगै प्रदेशका अधिकांश जिल्लामा रोपाइँले गति लिएको बताए । उनका अनुसार पर्याप्त वर्षा भएका जिल्लामा रोपाइँ तीव्र भएको छ भने उच्च पहाडी तथा वर्षा कम भएका क्षेत्रमा रोपाइँ अपेक्षाकृत सुस्त देखिएको छ।




