काठमाडाैँ । दशैँ, तिहार तथा छठलगायतका मुख्य चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको सङ्ख्या बढ्न थालेको छ। उपत्यकाका प्रमुख नयाँ तथा पुराना बसपार्क र बाहिरिने नाकाहरूमा सर्वसाधारणको चहलपहल बाक्लिएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यस वर्षको चाडपर्वमा उपत्यकाबाट करिब ८ देखि १० लाख नागरिक बाहिरिने अनुमान गरिएको छ। कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले दशैँ नजिकिँदै गर्दा गाउँ फर्किनेको चाप क्रमशः थपिने जानकारी दिए। यात्रुको चापलाई ध्यानमा राख्दै नाका र बसपार्क क्षेत्रको ट्राफिक व्यवस्थापन चुस्त बनाइएको प्रहरीले जनाएको छ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष सरोज सिटौँलाले सार्वजनिक सवारीसाधनमा यात्रुको उपस्थिति बढ्दै गएको बताए। यात्रुलाई सहजरूपमा गन्तव्यसम्म पुर्याउन नियमित गाडीबाहेक आवश्यकता अनुसार अतिरिक्त सवारीसाधन सञ्चालन गर्ने तयारी व्यवसायीहरूले गरेका छन्।
यसैबीच चाडपर्वका बेला यात्रु ठगिने जोखिमलाई ध्यानमा राखेर गाडीको अवस्था, भाडादर र टिकट बिक्रीको अनुगमन तीव्र पारिएको छ। सम्बन्धित निकायहरूले यात्रुलाई आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन र तोकिएको निर्धारित भाडा मात्र तिर्न आग्रह गरेका छन्।



