राजनीतिकांग्रेसका तीन उपसभापति र तीन महामन्त्री निर्वाचित, कसले कति मत पाए ?

कांग्रेसका तीन उपसभापति र तीन महामन्त्री निर्वाचित, कसले कति मत पाए ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। अन्तिम मतपरिणामअनुसार उपसभापतिमा डा. चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् भने महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला संग्रौला (पन्त) विजयी भएका छन्।

उपसभापतिको खुलातर्फ दुई पदमा भण्डारी र आचार्य निर्वाचित भएका हुन्। भण्डारीले तीन हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरे भने आचार्यले दुई हजार ३४२ मत प्राप्त गरी दोस्रो स्थानमा रहेर जित निकाले।

खुलातर्फका अन्य उम्मेदवारमध्ये गोविन्द भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३ र धनराज गुरुङले एक हजार ५९६ मत प्राप्त गरे। त्यस्तै, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत पाए।

समावेशीतर्फको एक उपसभापति पदमा विनोदकुमार चौधरी निर्वाचित भएका छन्। उनले एक हजार ७४५ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८ मत प्राप्त गरे। चौधरीले परियारलाई ८७ मतले पराजित गरेका हुन्।

यस पदका अन्य उम्मेदवारमध्ये फरमुल्लाह मन्सुरले एक हजार १४४, सीता गुरुङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन्।

महामन्त्रीको खुलातर्फ दुई पदका लागि भएको निर्वाचनमा प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन्।

पौडेलले चार हजार १९४ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरे। राणाले दुई हजार ३३० मत प्राप्त गरी दोस्रो स्थानमा रहेर महामन्त्री पदमा जित निकाले।

राणाका निकटतम प्रतिस्पर्धी डा. सुनिलकुमार शर्माले दुई हजार २५७ मत प्राप्त गरे। राणा र शर्माबीच ७३ मतको अन्तर रह्यो।

महामन्त्रीका अन्य उम्मेदवारमध्ये गुरुराज घिमिरेले एक हजार ५१३, नैनसिंह महरले एक हजार १३४ र अमरसिंह पुन मगरले एक हजार १२५ मत प्राप्त गरे। त्यस्तै, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत पाए।

महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्। उनले तीन हजार ११८ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले दुई हजार ८६४ मत प्राप्त गरिन्।

संग्रौलाले उपाध्यायलाई २५४ मतले पराजित गरेकी हुन्। सोही पदमा उम्मेदवारी दिएकी रीता खनालले ८०४ मत प्राप्त गरिन्।

महाधिवेशनबाट उपसभापतिका तीन र महामन्त्रीका तीन पदको निर्वाचन परिणाम सार्वजनिक भएसँगै कांग्रेसको नयाँ नेतृत्वको पदाधिकारी संरचनाले थप पूर्णता पाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार