देशगण्डकी प्रदेशबाढीपहिरोपछि सुस्ताएको मुस्ताङको पर्यटन दशैँ लगत्तै लयमा फर्कियो

बाढीपहिरोपछि सुस्ताएको मुस्ताङको पर्यटन दशैँ लगत्तै लयमा फर्कियो

काठमाडाैँ । रसुवाको बाढी र असोज दोस्रो साताको अविरल वर्षाका कारण अवरुद्ध बनेको बेनी-जोमसोम सडकमार्ग खुलेसँगै हिमाली जिल्ला मुस्ताङमा पर्यटकीय चहलपहल ह्वात्तै बढेको छ। दशैँअघि सुनसान जस्तै बनेको मुस्ताङमा टीकाको भोलिपल्ट बिहीबारदेखि पर्यटकको आगमन तीव्र भएको हो।

​जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार दशैँपछिका दुई दिन (बिहीबार र शुक्रबार) मा मात्रै ७ हजार ८४६ जना स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ भित्रिएका छन्। टीकाको भोलिपल्ट बिहीबार ३ हजार ३३ र शुक्रबार ४ हजार ८१३ जना पर्यटकले मुस्ताङ प्रवेश गरेका छन्।

​यसअघि प्राकृतिक विपद्का कारण सडकमार्ग प्रभावित हुँदा घटस्थापनादेखि विजयादशमीसम्मको १० दिनमा जम्मा ५ हजार ६६३ जना पर्यटक मात्र मुस्ताङ पुगेका थिए। तीमध्ये ४ हजार ४०९ जना (७७.८५ प्रतिशत) विदेशी पर्यटक रहेका थिए।

​चालु आर्थिक वर्षको साउनमा ३० हजार ५३४ र भदौमा २० हजार २६८ जना पर्यटक भित्रिएकामा सडक अवरोधका कारण असोजमा यो संख्या घटेर १८ हजार ६०१ मा सीमित भएको थियो।

​दशैँ-तिहारको लामो बिदा, अनुकूल मौसम र सडकमार्ग सञ्चालनमा आएकाले तिहार र छठ पर्वसम्म पर्यटकको उपस्थिति अझै बढ्ने अपेक्षा स्थानीय पर्यटन व्यवसायीले गरेका छन्। मुक्तिनाथ मन्दिर, कोरला नाका, लोमान्थाङ, ढुम्बाताल र टिटी तालजस्ता गन्तव्य हेर्न देशका विभिन्न भागबाट कर्मचारी, बैंक वित्तीय संस्थाका प्रतिनिधि तथा वैदेशिक रोजगारीबाट फर्किएकाहरू मुस्ताङ पुग्ने क्रम जारी छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार