समाजपर्सामा सशस्त्र प्रहरीद्वारा ४४ लाखभन्दा बढीको अवैध सामान बरामद, तीन लाखको पटाका...

पर्सामा सशस्त्र प्रहरीद्वारा ४४ लाखभन्दा बढीको अवैध सामान बरामद, तीन लाखको पटाका नष्ट

वीरगञ्ज । सशस्त्र प्रहरीले पर्साका विभिन्न सीमा क्षेत्रबाट भन्सार छली नेपाल भित्र्याइएका ४४ लाख ३४ हजार ३६० रुपैयाँ बराबरका अवैध सामान नियन्त्रणमा लिएको छ। बरामद सामानमध्ये ४१ लाख ३४ हजार ३६० रुपैयाँ बराबरका सामग्री वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ भने तीन लाख रुपैयाँ बराबरका प्रतिबन्धित पटाका नष्ट गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा तथा मातहतका कार्यालयबाट खटिएका टोलीले विभिन्न मितिमा कपडा, मोबाइलका पार्टपुर्जा, औषधि, कस्मेटिक, किराना सामग्रीलगायतका सामान बरामद गरेका हुन्।

गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीका अनुसार कात्तिक ८ गते जिल्लाका विभिन्न स्थानीय तह तथा सीमा क्षेत्रबाट सात लाख १० हजार ५२० रुपैयाँ बराबरका कपडा, कस्मेटिक तथा किराना सामग्री नियन्त्रणमा लिइएको हो।

त्यस्तै, कात्तिक ६ गते बिन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठ्ठामा भारतबाट भन्सार छली बा ६३ प ६८१५ नम्बरको मोटरसाइकलमा ल्याइँदै गरेको १८ लाख ४१ हजार ५०० रुपैयाँ बराबरका मोबाइलका पार्टपुर्जा बरामद गरिएको छ। सोही क्षेत्रबाट थप ५९ हजार ४० रुपैयाँ बराबरका कपडा तथा मोटरपार्ट्ससमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कात्तिक ७ गते वीरगञ्ज महानगरपालिका–२५, खल्वास्थित सीमा क्षेत्रमा धानखेतमा बेवारिसे अवस्थामा राखिएका आठ लाख १७ हजार ६८० रुपैयाँ बराबरका विभिन्न प्रकारका औषधि तथा अन्य सामग्री बरामद गरिएको थियो।

यसैगरी, सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले विभिन्न मितिमा तीन लाख पाँच हजार ६२० रुपैयाँ बराबरका खरबुजाको बिउ, तोरी तथा कपडा नियन्त्रणमा लिएको छ। सीमा सुरक्षा गुल्म वीरगञ्जले एक लाख ८४ हजार रुपैयाँ बराबरका कपडा तथा विद्युतीय सामग्री र बोर्डर आउट पोस्ट सिर्सियाले दुई लाख १६ हजार रुपैयाँ बराबरका कपडा बरामद गरेको छ।

बरामद गरिएका सबै सामग्री आवश्यक कानुनी कारबाहीका लागि कात्तिक ८ गते वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सूचना अधिकारी क्षेत्रीले जानकारी दिएका छन्।

यसैबीच, तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका तीन लाख रुपैयाँ बराबरका प्रतिबन्धित पटाकासमेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। पर्साका विभिन्न स्थानबाट बरामद गरिएका ती पटाका आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार