समाजहेटौँडामा मास्क लगाएर आएका चार जनाले गरे युवामाथि आक्रमण, सीसीटीभीबाट पहिचान

हेटौँडामा मास्क लगाएर आएका चार जनाले गरे युवामाथि आक्रमण, सीसीटीभीबाट पहिचान

हेटौँडा । मकवानपुरको हेटौँडामा दुईवटा मोटरसाइकलमा मास्क लगाएर आएका चार जनाले जुस पसलमा बसेका युवाहरूमाथि आक्रमण गरेका छन्। आइतबार साँझ हेटौँडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा भएको आक्रमणमा तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार साँझ हुप्राचौरस्थित अन फ्रेस जुस पसलमा जुस खाइरहेका युवाहरूमाथि चार जनाको समूहले फलामे रड प्रहार गरेको थियो। आक्रमणपछि उनीहरू मोटरसाइकलमा फरार भएका थिए।

घाइते हुनेमा हेटौँडा–३, बसामाडीका २७ वर्षीय बुद्ध पाख्रिन, ३१ वर्षीय जन मुक्तान र ३० वर्षीय अंकित राई रहेका छन्। पाख्रिनको बायाँ आँखामा, मुक्तानको टाउको र हातमा तथा राईको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घटनापछि तीनै जना उपचारका लागि हेटौँडा अस्पताल पुगेका थिए।

प्रहरीले घटनास्थल आसपासका सीसीटीभी फुटेज अध्ययन गरेर आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरिसकेको जनाएको छ। पहिचान खुले पनि उनीहरू पक्राउ परिनसकेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

सार्वजनिक स्थानमा युवाहरूमाथि आक्रमण हुनुको कारण भने खुल्न सकेको छैन। घटनाको कारण पत्ता लगाउन तथा फरार व्यक्तिहरूलाई नियन्त्रणमा लिन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार