हेटौँडा । भारतबाट नेपाल भित्र्याएर काठमाडौँतर्फ लैजाँदै गरेको ठूलो परिमाणको चाँदीका गरगहना तथा सिक्का मकवानपुर प्रहरीले बरामद गरेको छ। कारका चारवटै ढोकाको भित्री भागमा गोप्य खण्ड बनाएर लुकाइएको अवस्थामा १४ किलो १८० ग्राम चाँदी बरामद भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार आइतबार दिउँसो हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्टमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त सामग्री फेला परेको हो। प्रहरीले बा ३ च ७०७९ नम्बरको कार जाँच गर्दा ढोकाभित्र फल्स बटम बनाएर लुकाइएको अवस्थामा विभिन्न किसिमका गरगहना तथा सिक्का फेला पारेको थियो।
बरामद चाँदीको अनुमानित मूल्य ४० लाख ६९ हजार ६६१ रुपैयाँ रहेको छ। भन्सार छली गरी ल्याइएको आशङ्का गरिएको उक्त सामग्रीसँगै कारमा सवार चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको रक्सोलका ५० वर्षीय रमेशकुमार साह सोनार, उनकी ४२ वर्षीया श्रीमती चन्दादेवी सोनार, १८ वर्षीय छोरा अजित साह सोनार र २० वर्षीया भान्जी नन्दनीकुमारी साह रहेका छन्।
कारको सामान्य जाँचबाट सहजै पत्ता नलाग्ने गरी चारवटै ढोकाको भित्री संरचना परिवर्तन गरेर सामग्री लुकाइएको थियो। यसरी गोप्य खण्ड बनाएर ठूलो परिमाणमा चाँदी ओसारपसार गरिएको घटनाले भन्सार छलीका लागि अपनाइने तरिकासमेत उजागर गरेको छ।
प्रहरीले बरामद चाँदी, कार तथा पक्राउ परेका चारै जनालाई आवश्यक कारबाही र थप अनुसन्धानका लागि सोमबार वीरगन्ज भन्सार कार्यालय, पर्सा पठाएको जनाएको छ।


