काठमाडाैँ । बङ्गालको खाडीमा विकसित भएको गहिरो न्यून चापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ। भारतीय मौसम विभागका अनुसार ‘अर्नब’ नाम दिइएको यो चक्रवात आज बिहान साढे ५ बजे चक्रवातका रूपमा विकसित भएको हो।
उक्त चक्रवात आउँदो बुधवार बिहान भारतको बापटला र विशाखापट्टनमबीच आन्ध्र प्रदेश–यानम तट पार गर्ने अनुमान गरिएको छ। त्यसक्रममा हावाको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटर र झोक्कासहित १४० किलोमिटर प्रतिघण्टासम्म पुग्न सक्ने बताइएको छ। चक्रवातका कारण भारतका आन्ध्र प्रदेश र ओडिशाका तटीय क्षेत्रमा मुसलधारे वर्षाको सम्भावना रहेको छ।
जलवायु तथा पर्यावरणविद् उज्ज्वल उपाध्यायका अनुसार यो चक्रवातको प्रभाव नेपालतर्फ पनि सर्ने देखिएको छ। बुधवार रातिदेखि नेपालमा यसको प्रभाव सुरु भई सामान्यदेखि मध्यम वर्षा हुनेछ भने बिहीबारदेखि देशैभर वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
विशेषगरी बिहीबार दिउँसोदेखि शुक्रबार रातिसम्म कोशी, मधेश, बागमती, गण्डकी र पूर्वी लुम्बिनी प्रदेशमा विशेष सतर्कता अपनाउनुपर्नेछ। यी क्षेत्रका केही स्थानमा मुसलधारे वर्षा र हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्नेछ। शनिवारदेखि भने यो प्रणालीको असर क्रमिक रूपमा कमजोर हुँदै जानेछ।
संभावित क्षतिबाट बच्न मौसमविद् तथा कृषि विज्ञहरूले किसान तथा आम नागरिकलाई सचेत गराएका छन्। पाकेको धानबाली मंगलबार बेलुकासम्म थन्काइसक्न र बुधवारदेखि शनिबारसम्म धान नकाट्न कृषकहरूलाई सुझाव दिइएको छ। साथै, बुधवारदेखि शनिबारसम्म हिमाली क्षेत्रको पदयात्रामा नजान र बिहीबारदेखि लामो दूरीको यात्रा गर्दा उच्च सावधानी अपनाउन आग्रह गरिएको छ।


