काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको ब्याटिङ कमजोर देखिएको छ। साविक विजेता लुम्बिनी लायन्सविरुद्ध सुदूरपश्चिमका अधिकांश ब्याटर दोहोरो अङ्कमा रन जोड्न असफल हुँदा टोलीले ७ विकेटको पराजय भोगेको हो।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमा समेटियो। सामान्य लक्ष्य पछ्याएको लुम्बिनीले ९.५ ओभरमा तीन विकेट गुमाउँदै जित हासिल गर्यो।
सुदूरपश्चिमको इनिङ्स सुरुदेखि नै दबाबमा रह्यो। कप्तान दीपेन्द्रसिंह ऐरीले २३ बलमा चार चौकासहित सर्वाधिक २७ रन बनाए पनि अन्य ब्याटरले अपेक्षित प्रदर्शन गर्न सकेनन्। ओपनर साइफ जैबले १३, विनोद भण्डारीले नौ, इशान पाण्डेले सात र ब्रान्डन म्याकमुलनले दुई रन मात्र बनाए।
वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रुथरफोर्ड एक रनमै आउट भए। स्कट कुग्लिन र हेमन्त धामी खाता नखोली पभेलियन फर्किए। सुदूरपश्चिमले ९.५ ओभरमै सात विकेट गुमाउँदा स्कोरबोर्डमा जम्मा ५७ रन थियो।
लुम्बिनीका किशोर महतो सुदूरपश्चिमको ब्याटिङ धराशायी बनाउने प्रमुख खेलाडी बने। उनले २८ रन खर्चिएर चार विकेट लिए। शेर मल्लले तीन विकेट हात पार्दा साड्ली भान, रोहितकुमार पौडेल र तिलक भण्डारीले समान एक विकेट लिए।
लक्ष्य पछ्याउने क्रममा लुम्बिनीका डार्सी सर्टले विस्फोटक ब्याटिङ गरे। उनले १८ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ४० रन बनाए। आसिफ शेखले ३२ रनको योगदान दिए। सुदूरपश्चिमका अनिल खरेलले दुई र कप्तान दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
सुदूरपश्चिम एनपिएल इतिहासकै सबैभन्दा कम रन बनाउने टोली बन्नबाट भने जोगियो। प्रतियोगिताको पहिलो संस्करणमा जनकपुर बोल्ट्स ५१ रनमा अलआउट भएको थियो भने दोस्रो संस्करणमा पोखरा एभेन्जर्स ७४ रनमा समेटिएको थियो।
गत संस्करणको फाइनलमा लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिमले नयाँ सिजनको सुरुवात पनि सोही टोलीसँग हार बेहोरेर गरेको छ। लगातार दोस्रो उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको लुम्बिनीले भने पहिलो खेलमै प्रभावशाली प्रदर्शन गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले उद्घाटन गरेको प्रतियोगितामा मंगलबार दुई खेल हुनेछन्। पहिलो खेल दिउँसो १२ः३० बजे विराटनगर किंग्स र चितवन राइनोजबीच हुनेछ भने दोस्रो खेल साँझ ५ बजे कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुनेछ।


