हेटौँडा । यस वर्षको दसैँको समयमा देशभर भएका सडक दुर्घटनामा १२४ जनाले ज्यान गुमाएका छन्। असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्मको १५ दिनमा एक हजार ३३९ वटा सडक दुर्घटना हुँदा दुई हजार ९८८ जना घाइते भएका छन्।
नेपाल प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमध्ये ८३ पुरुष र ३९ महिला रहेका छन्। मृतकमध्ये १२ जना बालबालिका रहेको पनि प्रहरीले जनाएको छ। घाइतेमध्ये ४३७ जनाको अवस्था गम्भीर रहेको छ।
प्रदेशगत विवरणअनुसार सबैभन्दा धेरै दुर्घटना कोशी प्रदेशमा भएका छन्। कोशीमा ३९७, काठमाडौँ उपत्यकामा १७१, कर्णालीमा १७१, लुम्बिनीमा १६१, सुदूरपश्चिममा १५०, बागमती प्रदेशमा ११२, गण्डकीमा ९७ र मधेश प्रदेशमा ८० वटा दुर्घटना भएका छन्।
दुर्घटनामा कुल दुई हजार ४८१ सवारीसाधन संलग्न रहेको प्रहरीको तथ्याङ्क छ। तीमध्ये सबैभन्दा धेरै एक हजार ५५२ मोटरसाइकल रहेका छन्। त्यस्तै, ३३७ जिप तथा कार, २०७ टेम्पो, ७१ ट्रक तथा ट्याङ्कर, ६४ माइक्रोबस, ५४ बस, ३८ ट्याक्टर र १५ टिपर दुर्घटनामा परेका छन्। अन्य सवारीसाधनसमेत दुर्घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेका अनुसार चाडपर्वमा यात्रुको चाप बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि विशेष सुरक्षा व्यवस्था लागू गरिएको थियो। लामो दूरीका सवारीसाधनमा चालकको अनुमतिपत्र, मादक पदार्थ तथा लागुपदार्थ सेवन, यात्रु सङ्ख्या र सवारीसाधनको यान्त्रिक अवस्थाको जाँच गरिएको उहाँले जानकारी दिनुभयो।
यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ७०३ सवारीसाधनलाई कारबाही गरिएको छ। तीमध्ये मादक पदार्थ सेवन गरी सवारी चलाउने दुई हजार ७९४, क्षमताभन्दा बढी यात्रु बोक्ने एक हजार ८८२ र तीव्र गतिमा सवारी चलाउने ७४६ वटा रहेका छन्। अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनसमेत कारबाहीमा परेका छन्।
गत वर्ष दसैँको अवधिमा देशभर एक हजार ४९२ सडक दुर्घटना भएका थिए। यस वर्ष दुर्घटनाको सङ्ख्या केही घटे पनि मानवीय क्षति भने उल्लेख्य देखिएको छ। प्रहरीले चाडपर्व विशेष सुरक्षा योजनाअन्तर्गत छठ पर्वसम्मै विशेष जाँच तथा निगरानी जारी राख्ने जनाएको छ।
यसैबीच, सोमबार गुल्मीको कालीगण्डकी गाउँपालिका–२, दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। स्याङ्जाबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको स्कारपियो सडकबाट करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ।
त्यस्तै, धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित सप्तकोशी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा बेपत्ता भएका तीन जना अझै फेला परेका छैनन्। दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो। बेपत्ताको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीसहित सुरक्षाकर्मी परिचालन गरिएको छ।


