हेटौँडा । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा घिउ निर्यातलाई नियमित बनाएको छ। नेपाली घिउले दुबईको बजारमा राम्रो प्रतिक्रिया पाएपछि संस्थानले थप डेढ टन घिउ निर्यात गर्ने तयारी गरेको हो।
डीडीसीले गत भदौको पहिलो साता ६ सय किलो घिउ निर्यात गर्दै दुबईको बजारमा प्रवेश गरेको थियो। पहिलो खेपको सकारात्मक प्रतिक्रियापछि हालसम्म तीन खेपमार्फत करिब तीन टन घिउ निर्यात भइसकेको संस्थानले जनाएको छ।
डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार दुबईबाट नेपाली घिउको माग निरन्तर आउन थालेपछि निर्यात नियमित भइरहेको छ। तिहारअघि थप डेढ टन घिउ पठाउने अन्तिम तयारी भइरहेको उनले जानकारी दिए।
संस्थानले घिउसँगै अन्य दुग्धजन्य उत्पादनसमेत अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्ने योजना अघि बढाएको छ।
नेपाली दुग्धजन्य उत्पादनले विदेशी बजारमा स्थान पाउन थालेसँगै निर्यात विस्तारको सम्भावना बढेको छ। यसले स्वदेशी उत्पादनको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्नुका साथै दुग्ध उद्योग र किसानका लागि नयाँ बजारको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।


