काठमाडौँ । बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको सम्भावित प्रभावलाई मध्यनजर गर्दै गृह मन्त्रालयले कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले नौबुँदे सर्कुलर जारी गर्दै सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएको हो।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार चक्रवातको प्रभाव कात्तिक १२ गते बिहीबार रातिदेखि नेपालमा देखिन सक्नेछ। विशेषगरी कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुने अनुमान गरिएको छ।
ती प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा केही स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षा हुन सक्नेछ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेको जनाइएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै मन्त्रालयले किसानलाई काटिसकेको धानबाली कात्तिक १२ गतेअघि नै भित्र्याउन आग्रह गरेको छ। त्यस्तै, पर्यटकलाई उच्च पहाडी तथा हिमाली क्षेत्रमा नजान र पुगिसकेकाहरूलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।
प्रतिकूल मौसमका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सुझाव दिइएको छ। आवश्यक परे स्थानीय प्रशासनले अग्रिम सूचना दिएर सवारी आवागमन बन्द गर्न सक्नेछ।
मन्त्रालयले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यकताअनुसार सुरक्षित स्थानमा सार्न तथा जिल्ला सुरक्षा समिति, स्थानीय तह, सुरक्षा निकाय र स्वयंसेवकलाई विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ।
सर्वसाधारणलाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न र सम्बन्धित निकायबाट जारी हुने पूर्वचेतावनी पालना गर्न आग्रह गरिएको छ।
मौसमसम्बन्धी जानकारीका लागि ११५५ तथा विपद्का बेला सहयोगका लागि १२३४, १०० वा १११४ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।


