काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर हुँदै गए पनि यसको प्रभावले नेपालमा आज बिहीबारदेखि शनिबारसम्म वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कात्तिक १२ देखि १४ गतेसम्म देशका अधिकांश प्रदेशमा मौसम प्रभावित हुने पूर्वानुमान गरेको हो ।
महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावसँगै चक्रवातबाट विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा वर्षा तथा हिमपातको सम्भावना बढेको छ । विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसँगै कर्णाली तथा सुदूरपश्चिमका हिमाली भूभागमा सामान्यतया बादल लाग्नेछ । कोशी र बागमतीका हिमाली क्षेत्रका केही स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना छ । अन्य प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज रातिदेखि मौसम थप सक्रिय हुने पूर्वानुमान छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार चक्रवात बुधबार बिहान भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रमा प्रवेश गरेको थियो । जमिनमा प्रवेश गरेपछि उत्तर–उत्तरपश्चिमतर्फ अघि बढ्दै क्रमशः कमजोर भएको प्रणालीको अप्रत्यक्ष प्रभाव नेपालको मौसममा देखिन लागेको हो ।
मौसमविद्हरूका अनुसार चक्रवातको अवशेषले ल्याउने जलवाष्पयुक्त हावाका कारण उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात, हिमआँधी तथा हिमपहिरोको जोखिम रहने सम्भावना छ । वर्षा र हिमपातका कारण तापक्रम घट्नुका साथै पहिरोको जोखिम रहेका सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने देखिएको छ ।
महाशाखाले सम्भावित वर्षालाई ध्यानमा राख्दै किसानलाई कात्तिक १४ गतेसम्म धानबाली सुरक्षित राख्न आग्रह गरेको छ । त्यस्तै, उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न, जोखिमयुक्त स्थानमा नजान र हिमाली क्षेत्रमा रहेका पर्यटकलाई सुरक्षित स्थानमा बस्न सुझाव दिएको छ ।
मौसम प्रणालीको निरन्तर निगरानी भइरहेको जनाउँदै महाशाखाले सर्वसाधारणलाई आधिकारिक मौसम सूचना नियमित रूपमा हेर्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।


