काठमाडौँ । युरोपेली सङ्घ (ईयू) ले युक्रेनमाथि भइरहेको रुसी आक्रमण रोक्न रुसमाथि थप दबाब बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ।
युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले युक्रेनका सर्वसाधारणमाथि भइरहेका आक्रमणको निन्दा गर्दै रुसलाई जवाफदेही बनाउन अन्तर्राष्ट्रिय साझेदारहरू एकजुट हुनुपर्ने बताएका छन्।
युक्रेनको व्यस्त रेलवे स्टेसनमा रुसी ड्रोन आक्रमण भएको खबर सार्वजनिक भएपछि कोस्टाले यस्तो आग्रह गरेका हुन्। उक्त आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको विवरण सार्वजनिक भए पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
कोस्टाले सामाजिक सञ्जालमार्फत युक्रेनी नागरिकमाथिको आक्रमणलाई क्रूर र विनाशकारी घटनाको अर्को शृङ्खलाका रूपमा टिप्पणी गरेका छन्।
उनले युक्रेनमा न्यायपूर्ण र दिगो शान्ति स्थापना नभएसम्म युरोपेली सङ्घले रुसमाथि दबाब बढाउने र युक्रेनलाई सहयोग जारी राख्ने स्पष्ट पारेका छन्। साथै, अन्य अन्तर्राष्ट्रिय साझेदारहरूलाई पनि सोहीअनुसार कदम चाल्न आग्रह गरेका छन्।
युरोपेली सङ्घकी विदेश नीति प्रमुख काजा काल्लासले पनि युक्रेनप्रतिको अन्तर्राष्ट्रिय सहयोग थप सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन्। उनले आगामी अन्तर्राष्ट्रिय बैठकहरूमा युक्रेनलाई दिइने सहयोग विस्तार गर्ने विषय उठाउने बताएकी छन्।
काल्लासले युक्रेनमाथि भइरहेका आक्रमणका लागि रुसलाई जवाफदेही बनाउनुपर्ने बताउँदै शान्ति स्थापनाका लागि अन्तर्राष्ट्रिय समुदायको साझा प्रयास आवश्यक रहेको उल्लेख गरेकी छन्।


