काठमाडौं । भुटानको उत्तरी गासा जिल्लामा रहेको सिन्टाफु हिमताल विस्फोटपछि आएको बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड बगाएको छ। बाढीका कारण पुनाखा–गासा राजमार्गमा समेत ठूलो क्षति पुगेको छ भने प्रभावित क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ।
डेली भुटानका अनुसार बिहीबार साँझ लुङ्गोस्थित लया गेओगको वाकिला पहाड नजिक रहेको हिमतालबाट अचानक ठूलो मात्रामा पानी बाहिरिएको थियो। राति करिब ८ः१५ बजे बाढीको पानी ताकत्सेमाखाङ क्षेत्रमा पुगेपछि सडक तथा अन्य पूर्वाधारमा क्षति पुगेको हो।
बाढीले पुनाखा–गासा राजमार्गको करिब ३१.८५ किलोमिटर आसपासको सडक खण्डमा क्षति पुर्याएको जनाइएको छ। सडक अवरुद्ध भएपछि अर्को सूचना जारी नभएसम्म उक्त मार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
बाढीको जोखिम बढेसँगै स्थानीय प्रशासनले सम्भावित प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। स्थानीयलाई सचेत गराउन चेतावनी साइरनसमेत बजाइएको थियो। अधिकारीहरूले बाढीबाट भएको क्षतिको विवरण सङ्कलन तथा थप जोखिमको मूल्याङ्कन गरिरहेका छन्। तालबाट बाहिरिएको पानीको मात्रा र क्षतिको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन।
सिन्टाफु हिमताल भुटान सरकारले पहिचान गरेका १७ वटा सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो। सन् २०२३ मा भुटानी विज्ञहरूको टोलीले उक्त तालको अध्ययन गर्दै प्राकृतिक बाँध, हिमनदी र पानीको अवस्थाबारे अनुसन्धान गरेको थियो। सम्भावित जोखिमको निगरानीका लागि उपकरणसमेत जडान गरिएको थियो।
हिमतालबाट निस्किएको पानी मो छु नदी हुँदै पुनाखा पुग्ने गर्छ। त्यहाँ फो छु नदीसँग मिसिएपछि पुनात्साङछु नदी बन्ने र उक्त नदी भारत प्रवेश गर्दा सङ्कोश नदीका रूपमा चिनिने भएकाले बाढीको जोखिम भुटानमा मात्र सीमित नरहने देखिएको छ।
यसैबीच भारतको केन्द्रीय जल आयोगले सम्भावित बाढीलाई ध्यानमा राख्दै पश्चिम बङ्गाल र असमका केही क्षेत्रमा विशेष सतर्कता जारी गरेको छ। आयोगले अलिपुरद्वार र धुब्री जिल्लामा नदीको जलस्तर अचानक बढ्न सक्ने चेतावनी दिँदै सङ्कोश नदीको निरन्तर निगरानी गर्न स्थानीय प्रशासनलाई आग्रह गरेको छ।
हिमताल विस्फोटपछि आएको बाढीले पुर्याएको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको र प्रभावित क्षेत्रमा थप जोखिमको निगरानी जारी रहेको जनाइएको छ।


