कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएका दुईजना संक्रमणमुक्त भए । दुवै जनाकाे मंसिर २१ गते रिपोर्ट नेगेटिभ आएकाे हाे । दक्षिण अफ्रिकाबाट नेपाल आएका ६६ वर्षीय विदेशी नागरिक र ७१ वर्षीय नेपाली नागरिकमा मंसिर १९ गते ओमिक्रोन पुष्टि भएको थियो।
संक्रमण भएको दुई दिनमै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए ।दुवै जनामा कोरोनाको नयाँ संक्रमण देखिएसँगै नेपालमा पनि त्रास फैलिएको थियो । सर्वसाधारणमा समेत नयाँ भेरियन्टलाई लिएर चिन्ता र चासो बढ्याे । दुवैजना संक्रमणमुक्त भएसँगै यतिबेला देशमा नयाँ भेरियन्टका एउटा पनि संक्रमित छैनन् ।
दैनिक १३ हजारभन्दा बढीको स्वाब परीक्षण गर्दा २ देखि तीन सयको हाराहारीमा संक्रमण पुष्टि भइरहेको छ । तर पनि अहिलेसम्म नयाँ भेरियन्ट ओमिक्रोन नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । ‘दुईजना संक्रमणमुक्त भएपछि अहिलेसम्म थप कसैमा पनि नयाँ भेरियन्ट देखिएको छैन’, प्रवक्ता पौडेलले भने ।
नयाँ भेरियन्टबाट बच्न र त्यसलाई पत्ता लगाउनेगरी दुवै किसिमले स्वास्थ्य मन्त्रालयले काम गरिरहेको छ । सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा एन्टिजेन परीक्षणलाई तीव्रता दिइएको छ। एन्टिजेन परीक्षणको क्रममा पोजिटिभ आएकाहरू सबैको जिन सिक्वेइन्स गर्ने काम भइरहेको प्रवक्ता डा. पौडेलले बताए । देशभरका सीमानाकामा रहेका हेल्थ डेक्समा पनि एन्टिजेन परीक्षणको क्रममा पोजेटिभ देखिएकाहरू सबैको जिन सिक्वेइन्स भइरहेको उनको भनाइ छ । त्यसका लागि हेल्थ डेक्समा स्वाब संकलन गरेर जिन सिक्वेइन्सका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा पठाइँदै आइएको छ ।
नेपालभारत सीमा जोडिएका नाकाहरूबाट नेपाल भित्रिने सबैको एन्टिजेन परीक्षण हुँदै आएको प्रवक्ता डा. पौडेलले बताए । एन्टिजेन परीक्षणको क्रममा पोजिटिभ देखिएका केसहरूलाई जिन सिक्वेइन्सका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउँदै आएको हो । ‘जिन सिक्वेइन्सलाई तीव्रता दिएका छौं । व्यापक रूपमा नै भइरहेको छ । तर, अहिलेसम्म नयाँ भेरियन्टका थप संक्रमित देखिएका छैनन्’, प्रवक्ता डा. पौडेलले भने।
प्रदेशस्तर र स्थानीय स्तरका प्रयोगशालामा जिन सिक्वेइन्स गर्न सकिने प्रविधिको विकास भइसकेको छैन । त्यसका लागि केन्द्रीय प्रयोगशालामा मात्रै पठाउनुपर्छ । हेल्थ डेक्सहरूले प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत् जिन सिक्वेइन्सका लागि संकलित स्वाब काठमाडौं पठाउने गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए ।
‘कोरोनाको पुराना भेरियन्टहरू पत्ता लगाउन स्थानीय प्रयोगशालाहरू नै सक्षम छन् । तर, नयाँ भेरियन्ट ओमिक्रोनका लागि जिन सिक्वेइन्स गर्नुपर्छ । त्यो स्थानीय प्रयोगशालामा गर्न सकिँदैन । त्यसका लागि हामीले काठमाडौं पठाइरहेका छौं । अहिलेसम्म नयाँ भेरियन्ट त फेला परेको छैन’, निर्देशक डा. अवस्थीले भने ।



