सरस्वती पूजा अर्थात वसन्त पञ्चमी । वसन्त अर्थात ऋतुहरुको राजा । वसन्तको सुरुवात हुने भएकाले आजको दिनलाई वसन्त पञ्चमी भनिएको हो । आजको दिन हामी सबैको लागि विशेष दिन हो । किनभने आज हामी वाग्देवी अर्थात बोलिकी देवी सरस्वतीको पूजा उपासना गर्छौँ । उल्लासमय अवसरको रुपमा मनाउँछौँ । त्यसको अर्थ के होला रु सरस्वती स्वरुपले के अर्थ राख्छ ?
श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित, पहिलो हातमा वीणा, दोस्रोमा पुस्तक र तेस्रोमा स्फटिकको माला र चौथो हात अभ मुद्रामा रहेकी देवी सरस्वती हुन् भनी शास्त्रमा उल्लेख छ ।
उनको प्रतिकात्मक चित्र, वहान, हातमा लिएका वाद्ययन्त्र सबैले खास अर्थ बोक्छन् ।उनले हातमा लिएको विणाबाट के पनि बुझिन्छ भने, जीवन धुन हो । यो मधुर हुनुपर्छ । लयवद्ध हुनुपर्छ । कलाले जीवनलाई संगीतमय बनाउँछ । पुस्तकले विद्याको र मालाले निष्ठा र सात्विकताको वोध गराउँछ । सरस्वतीको तस्विरसँगै मयुर देखिन्छ । मयुर सरस्वतीकी वहान हुन् । मयुरालाई सौन्दर्य एवं मधुर स्वरको प्रतिक मानिन्छ । विद्यानै मानिसको सौन्दर्य पनि हो ।
वार्षिक चक्र अनुसार बर्षभर नै विभिन्न चाडपर्व आउने गर्छ । यी पर्वले हाम्रो जीवनमा उल्लास मात्र ल्याउँदैन, खास अर्थ पनि राख्छ । कुनै न कुनै पर्व मनाउनुको पछाडि त्यसको सामाजिक तथा वैज्ञानिक महत्व हुन्छ । सरस्वती पूजा । यसलाई हामी ‘श्रीपञ्चमी’ भन्छौं । श्री अर्थात् शुभारम्भ , पूर्वीय मान्यता अनुसार कुनैपनि शुभ कार्य थालनीको लागि यो राम्रो साइत हो । त्यसैले यस दिन राम्रो काम प्रारम्भ गर्न अतिरिक्त साइत हेराइरहनुपर्दैन । त्यसैले त, यस दिन साना बच्चाहरुलाई अक्षर लेख्न सिकाइन्छ । अर्थात अक्षराम्भको उपयुक्त अवसर मानिन्छ ।
बसन्त पञ्चमी विद्यार्थीहरूको लागि धेरै विशेष छ। यस दिन माता सरस्वतीको पूजाआजा गर्नाले उज्ज्वल भविष्यको कामना पूरा हुन्छ । बसन्त पञ्चमीमा सरस्वती पूजा गर्ने शुभ समय र विधि जान्नुहोस् । बसन्त पञ्चमी ज्ञान दिने देवी सरस्वतीको पूजा गर्ने दिन हो। सबै प्रकारको धनमा ज्ञानलाई उत्तम मानिन्छ। शिक्षाबाट मात्र मानिसले धन र इज्जत पाउँछ। ज्ञान प्राप्तिको लागि माता सरस्वतीको आशीर्वाद धेरै महत्त्वपूर्ण छ। फागुन २ गते भाेलि बुधबारका दिन माता सरस्वतीको पूजा आराधना गरिँदैछ । शुभ समयमा गरिने पूजा र शुभ संयोगले दोब्बर फल प्राप्त हुने जनविश्वास छ । बसन्त पञ्चमीमा सरस्वती पूजा गर्ने विधि जान्नुहोस्।
वसन्त पञ्चमीमा नुहाएर पहेँलो रङ्गको लुगा लगाउने । शुभ समयमा देवी सरस्वतीलाई बेसार चढाउनुहोस् र त्यो बेसारले आफ्नो पुस्तकमा ‘ई’ लेख्नुहोस्। कलम, औषधि र वाद्य यन्त्रको पनि पूजा गर्नुहोस्। यस दिन बच्चाको जिब्रोमा महले ‘अ’ लेख्नुपर्छ, यसो गर्नाले बच्चा ज्ञानी बन्ने, छिट्टै बोल्ने र छिट्टै शिक्षा सिक्न थाल्छ भन्ने मान्यता छ । देवी मातालाई पहेँलो फूल चढाउनुहोस्। हलुवा, खीर वा बेसारको लड्डु चढाउनुहोस्। माता सरस्वतीको जय जयकार गरौँ, अन्त्यमा आरती गरौँ र गरिबलाई खाना, लत्ताकपडा र किताब बाँडौँ ।
वसन्त पञ्चमीको दिनलाई ज्ञान, वुद्धि र विवेक प्राप्तिका लागि उत्तम साइतको रुपमा लिइन्छ । देवगुरु बृहस्पति पनि ज्ञान, वुद्धि, विवेक, गुरुताका प्रतिक हुन् र उनै बृहस्पतिको बार हो बिहीबार । यस वर्षको सरस्वती पूजा पनि बिहीबार नै परेको छ । यसर्थ, यस वर्षको सरस्वती पूजा अत्यन्त शुभ र मंगलको सूचकको रुपमा आएको छ । पहिले–पहिले सरस्वती वन्दनामा प्रायः यो श्लोक पाइन्थ्यो र यसलाई विद्यालय पाठ्यक्रममा पनि समावेश गरिएको थियो ।
वसन्त पञ्चमी माता सरस्वतीका लागि अत्यन्त प्रिय दिन हो । यस दिन विधिपूर्वक सरस्वतीको पूजन, कीर्तन र आरतीगर्नाले जीवनमा सुख, शान्ति र सफलता प्राप्त हुने, विद्या र बुद्धि बढ्ने तथा विद्या अध्ययन र आर्जनमा सफलता प्राप्त हुने विश्वास गरिन्छ । शास्त्र अनुसार यस दिन हातमा पुस्तक, बीणा र माला लिएकी सरस्वती कमलमा विराजमान रहेर प्रकट हुनुभएको कुरा उल्लेख छ । यस दिन माता सरस्वतीको पूजा गर्नाले ज्ञान, वाणी तथा शिक्षा सम्बन्धी सम्पूर्ण समस्याहरु समाधान भएर जाने विश्वास गरिन्छ । आजका दिन विवाह, व्रतबन्ध, बेल विवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ ।
यस दिन बालबालिकाहरुलाई शिक्षारम्भ साथै नाक–कान छेडी दिने गरिन्छ । सरस्वतीलाई चढाएको सात गेडा अक्षता दाँतले नछोई निलेमा विद्या र बुद्धि स्फुरण भई सरस्वतीबाट चेतना र विद्याको ज्योति पाइन्छ भन्ने धार्मिक मान्यता र विश्वास रहेको छ । यस दिन बालबालिकाहरुलाई औपचारिक शिक्षाको शुरुवात तथा अक्षरारम्भ यस श्लोक वा बन्दनाबाट गराइन्छ ।
‘सरस्वति नमस्तुभ्यं वरदेकामरूपिणि ।
विद्यारम्भं करिष्यामिसिद्धिर्भवतुमेसदा ।।
विद्या आर्जन गरिरहेकाहरुले सरस्वतीका विभिन्न श्लोक, मन्त्र आदिद्वारा स्तुतीगान गर्दछन् :
सरस्वतीमया दृष्टा वीणा पुस्तक धारिणी ।
हंसवाहन संयुक्ता विद्यादानं करोतु मे ।।१।।
प्रथमं भारतीनाम द्वितीयञ्च सरस्वती ।
तृतीयं शारदा देवीचतुर्थ हंसवाहिनी ।।२।।
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी ।।३।।
नवमं बुद्धिदात्री च दशमं ब्रम्हाचारिणी ।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी ।।४।।
द्वादशै तानिनामानित्रिसन्ध्यं य पठेन्नरः ।
जिव्हाग्रे वसते तस्य ब्रम्हरुपा सरस्वती ।।५।।
बसन्त पञ्चमीमा राशी अनुसारका मन्त्र यी हुन् ः
मेष – ओम वाग्देवी वागीश्वरी नम:
वृष – ओम कौमुदी ज्ञानदायिनी नम:
मिथुन – ओम मा भुवनेश्वरी सरस्वत्याय नम:
कर्कट – ओम चन्द्रिका दैवी नम:
सिंह – ओम मा कमलहास विकासिनी नम:
कन्या – ओम माँ प्रणवनाद विकासिनी नम:
तुला – ॐ मां हंसुवाहिनी नम:
वृश्चिक – ओम शारदै दैव्यै चन्द्रकान्ति नम:
धनु – ओम जगति वीणावादिनी नम:
मकर – ओम बुद्धदात्री सुधामूर्ति नम:
कुंभ – ओम ज्ञानप्रकाशिनी ब्रह्मचारिणी नम:
मीन – ओम वरदायिनी माँ भारती नम: