काठमाडौं | आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन आज नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विशेष पूजाआराधना हुँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षको यो दिन कुष्माण्डा देवीलाई निष्ठापूर्वक आराधना गर्ने परम्परा रहिआएको छ ।
आध्यात्मिक, आधिभौतिक र आधिदैविक तापलाई हराउने भएकै कारण देवीलाई कुष्माण्डा भनिएको हो । देवीले सुराले भरिएको घडा र रगतयुक्त पात्र धारण गरेको उल्लेख विभिन्न पुराणमा पाइन्छ । दुर्गा सप्तशती (चण्डी) मा पनि कुष्माण्डा देवीको स्वरुप र शक्तिको विशेष वर्णन गरिएको छ । विश्वास गरिन्छ, यिनको आराधनाले त्रिविध तापको नाश भई शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुन्छ ।
नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना गरिएको थियो । आज चौथो दिन कुष्माण्डा देवीको पूजाआराधना हुँदैछ । नौ दिनसम्म घटस्थापनास्थलमा दुर्गा सप्तशती, देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ भने विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म पूजामा चढाइएका प्रसाद ग्रहण गर्ने चलन छ ।
देशभरका शक्तिपीठमा आज भक्तजनको भीड लागेको छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, नक्साल भगवती, भद्रकाली, शोभाभगवतीलगायत मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड देखिएको छ । उपत्यकाबाहिर मनकामना, पाल्चोक भगवती, पलाञ्चोक भगवती, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरीलगायत शक्तिपीठमा पनि पूजाआराधनामा हजारौं भक्तजन सहभागी भइरहेका छन् ।



