हेटौँडा | आगामी दशैँको फूलपातीदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म माइतीघरको टोली आक्रामक प्रचारमा उत्रिएको छ। पारिवारिक र सामाजिक कथावस्तुमा आधारित यो फिल्मले दशैँमा दर्शकको पारिवारिक मनोरञ्जनको चाहना पूरा गर्ने दाबी निर्माण पक्षले गरेको छ।
निर्माण टिमले देशभर होर्डिङ बोर्डमार्फत प्रचार सुरू गरिसकेको छ। यसै क्रममा, फिल्मको कालजयी गीत प्राण भन्दा प्यारो माइतीघरको रिक्रिएसन संस्करणमा आधारित नृत्य प्रतियोगिता आगामी भदौ दोस्रो सातादेखि सुरु हुने भएको छ। निर्माता रोहित अधिकारीका अनुसार, प्रतियोगिताको विजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछन्। यो पुरस्कार राशि नेपाली फिल्मको प्रचारका लागि राखिएकोमध्ये अहिलेसम्मकै ठूलो हो।
देशभरका जोसुकैले सहभागी हुन पाउने प्रतियोगितामा सो गीतको अडियो क्लिप प्रयोग गरेर एकल वा सामूहिक नृत्य प्रस्तुत गर्नुपर्नेछ। भिडियो मोबाइलमै खिचेर पठाउन सकिने सुविधा रहनेछ। प्रतियोगिताबारे सम्पूर्ण विवरण छिट्टै सार्वजनिक हुने अधिकारीले बताए।
माइतीघर रोहित अधिकारी फिल्म्स प्रा.लि.को प्रस्तुति हो। निर्देशन मिलन तामाङले गरेका छन्। कथामा तामाङ समुदायको संस्कृति र भावनात्मक सम्बन्धलाई केन्द्रमा राखिएको छ।
रविन शेरचन र धिरज तामाङ लगानीकर्ता हुन्। ईश्वर श्रेष्ठ र निरज कटुलाल कार्यकारी निर्माता छन्। फिल्ममा चन्द्रकुमार दोङको कथा, रामशरण पाठकको पटकथा तथा संवाद, सुशन प्रजापतिको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन र अष्ट महर्जनको एक्सन निर्देशन रहेको छ।



