फिचरमुख्यमन्त्री बानियाँको खर्च कटौती घोषणा, विपन्नका लागि घर निर्माण गरिदिने

मुख्यमन्त्री बानियाँको खर्च कटौती घोषणा, विपन्नका लागि घर निर्माण गरिदिने

हेटौँडा | बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री निवास र कार्यालयमा हुने सुविधा वापतको खर्च आधा कटौती गर्ने घोषणा गरेका छन्।

बुधबार प्रदेशसभाको विशेष समयमा सम्बोधन गर्दै उनले विगतका मुख्यमन्त्रीहरूले प्रयोग गर्दै आएको खर्चलाई पचास प्रतिशतले घटाउने बताएका हुन्। “सुशासन र पारदर्शितासहित जवाफदेही शासनको अभ्यास गर्नेछु,” बानियाँले भने।

उनका अनुसार पहिलो मन्त्रिपरिषद् बैठकमै आफूले पाउने सेवा–सुविधाबाट प्राप्त रकम निर्वाचन क्षेत्रमा विपन्न परिवारको घर बनाउन प्रयोग गर्ने निर्णय भएको छ। दशैँअघि नै मकवानपुर क्षेत्र नम्बर दुई (क) का सबैभन्दा गरिब परिवारको घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिने उनले बताए।

“जनमुखी, सेवामुखी, न्यायमुखी, आयमुखी र विकासमुखी सरकारको यात्रामा अघि बढ्नेछु,” बानियाँले भने, “दशैँअघि तीस वडामध्ये सबैभन्दा विपन्नको घर बनाइसक्नेछु।”

पहिलो मन्त्रिपरिषद्ले गरिब तथा विपन्न वर्गका विद्यार्थीका लागि छात्रवृत्ति वितरणको निर्णय पनि गरेको छ। यसअन्तर्गत वनकरिया, थामी, चेपाङ, जिरेल, पहरीलगायत सिमान्तकृत समुदायका बालबालिकालाई अध्ययनका लागि सहयोग गरिने उनले बताए।

मुख्यमन्त्रीले विगतका सकारात्मक कामलाई निरन्तरता दिने र विपद् व्यवस्थापनलाई विशेष प्राथमिकतामा राख्ने बताए। विपद् पुनर्निर्माणका लागि कार्यतालिका बनाएर अघि बढाउने र जोखिम न्यूनिकरणमा सक्रिय रहने सरकारको प्रतिबद्धता उनले दोहोराए।

त्यसैगरी, बुधबार नै मन्त्रालयका सचिवहरूसँगको बैठकमा बानियाँले सरकारी खर्च घटाउने र आर्थिक सुशासन कायम गर्ने निर्देशन दिए। मन्त्रालय सञ्चालनमा दक्षता, पारदर्शिता र समयमै सेवा वितरणलाई प्राथमिकतामा राख्न आग्रह गरे।

“काम नगरी तलब खाने” प्रवृत्ति अन्त्य गर्नुपर्ने उनको भनाइ छ। कर्मचारीको कार्यक्षमता वृद्धि, योजनाको समयमै सम्पन्नता र जिम्मेवारीमा ढिलाइ नगरी एकताबद्ध भएर काम गर्न उनले निर्देशन दिए।

सरकारी साधनस्रोतको दुरुपयोग रोक्ने, छिटो परिणाम दिने र समयमै न्याय सुनिश्चित गर्ने कार्यलाई प्राथमिकतामा राख्ने उनले बताएका छन्। नीति, निर्णय र कार्यान्वयनलाई सरकारका तीन स्तम्भ मान्दै उनले स्पष्ट नीति, छिटो निर्देशन र समयमै सेवा उपलब्ध गराउने प्रणालीलाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img