इलाम- इलामको सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाईलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो । तर उनलाई नगरपालिकाले निःशुल्क पढायो ।
गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी उनी ‘नगरको इच्छा छोरी–बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शत्प्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण भइन् । हाल उनी स्नात्तकोत्तर अध्ययन गरिरेकी छिन्।
सूर्योदयले सो कार्यक्रम अन्तर्गत कर्फोक क्याम्पसमा शत्प्रतिशत छात्रवृत्ति दिएर छोरी–बुहारीलाई पढाउन थालेको चार वर्ष बित्यो । नगरको छात्रवृत्ति कार्यक्रममा अहिलेसम्म एक सय ५३ छोरी–बुहारीले स्नातक अध्ययन गरिसकेका छन् ।
तीमध्ये २३ जनाले उत्तीर्ण गरेको करफोक क्याम्पस प्रमुख गोपाल कट्टेलले जानकारी दिए । यस वर्ष यहाँ छात्रवृत्तिमा अध्ययन गर्ने छोरी–बुहारीको सङ्ख्या दुई सय पुग्दै छ । नगरपालिकाभित्रका छोरी र यहाँ विवाह भएर आएका बुहारीलाई पालिकाले छात्रवृत्तिमा स्नातक अध्ययन गराइरहेको नगरप्रमुख रणबहादुर राईले बताए ।
नगरपालिकाले नगरबाट छात्रवृत्तिमा अध्ययन गरेका ‘छोरी–बुहारी’लाई सय दिनको रोजगारी दिने तयारी गरेको हो । छोटो समयका लागि भए पनि छात्रवृत्तिमा उत्तीर्ण भएका महिलालाई प्रोत्साहनस्वरुप रोजगारी दिन लागिएको नगर प्रमुख राईले बताए ।
उनीहरूलाई थप सिकाइ र क्षमता प्रस्फुटनमा सय दिनको रोजगारी सहयोगी बन्ने उनले जानकारी दिए ।
उनीहरूलाई क्षमताअनुसार नगर तथा अन्तर्गतका कार्यालय, विद्यालय, स्वास्थ्य संस्था लगायतमा रोजगारी दिइने छ । नगरका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले शिक्षा, मानविकी, व्यवस्थापन, कम्प्युटरलगायत विद्यार्थीको जुन क्षेत्रमा योग्यता छ, त्यसैमा रोजगारी दिइने बताए ।
गरबाट छात्रवृत्ति पाएका महिलाले करफोक क्याम्पसमा विभिन्न सङ्काय र विषय अध्ययन गरिरहेका छन् । क्याम्पस प्रमुख कट्टेलले नगरको छात्रवृत्ति कार्यक्रमले दूरदराजका छोरी–बुहारीले क्याम्पस पढ्न पाएको बताए ।
करफोक क्याम्पसमा छात्रवृत्ति पाएका विद्यार्थीले बिबीए, बिबीएच, बिएड र बिए अध्ययन गरिरहेका छन् । स्नातक तह उत्तीर्ण गरेकामध्ये धेरैजसो स्नात्तकोत्तर अध्ययन गर्न जिल्लाबाहिर रहेकाले आधाभन्दा बढीले मात्र सय दिनको रोजगारी लिने शिक्षा शाखा प्रमुख भट्टराईले बताए ।