समाजमकवानपुरमा जेठमै १६ आत्महत्या

मकवानपुरमा जेठमै १६ आत्महत्या

हेटौँडा । मकवानपुरमा जेठ महिनामा मात्रै १६ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको मासिक कार्यसम्पादन विवरणअनुसार आत्महत्या गर्नेमा १० महिला र ६ पुरुष छन् । तीमध्ये १८ वर्षभन्दा कम उमेरका ३ जना बालिका पनि रहेका छन् ।

मकवानपुरमा आत्महत्याको समस्या पछिल्लो समयदेखि नै चुनौतीका रूपमा देखिँदै आएको स्वास्थ्यकर्मीहरू बताउँछन् । आत्महत्या गरेर मृत्यु हुनेको तथ्यांक मात्र नभई आत्महत्याको प्रयासपछि उपचारमा आउने व्यक्तिहरूको अवस्थालाई पनि अध्ययन गर्नुपर्ने उनीहरूको भनाइ छ । मानसिक तनाव, डिप्रेसन, पारिवारिक समस्या, सामाजिक दबाब, आवेग र समयमै उपचार नपाउने अवस्थाले जोखिम बढाउन सक्ने बताइएको छ ।

हेटौँडा अस्पतालका मनोचिकित्सक डा. उद्धव लामाले आत्महत्यालाई गम्भीर मानसिक स्वास्थ्य समस्याका रूपमा बुझ्नुपर्ने बताए । उनका नुसार मानसिक तनाव र डिप्रेसनको समयमै उपचार हुन सके धेरै घटना रोकथाम गर्न सकिन्छ । “आत्महत्या गरेर मृत्यु हुनेको संख्या मात्र हेरेर हुँदैन । आत्महत्याको प्रयास गरेर उपचारमा आउने केस पनि धेरै हुन्छन् । त्यसको पनि तथ्यांक र विश्लेषण गरेर योजना बनाउनुपर्छ,” उनले बताए ।

डा. लामाका अनुसार आत्महत्याको सोच देखिएका व्यक्तिलाई काउन्सिलिङ, परिवारको निगरानी र आवश्यक परे औषधि उपचारसमेत चाहिन सक्छ । किशोरकिशोरीमा आवेगात्मक निर्णयको जोखिम बढी हुने भएकाले परिवारले गाली गर्नेभन्दा पनि सुन्ने, सम्झाउने र आवश्यक परे स्वास्थ्य संस्थासम्म पुर्‍याउनुपर्ने उनको सुझाव छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक माधव काफ्लेले पनि आत्महत्याको अवस्था चिन्ताजनक रहेको बताए । “जनचेतना मात्रले पुग्दैन, काउन्सिलिङ र नजिकबाट निगरानी आवश्यक हुन्छ,” उनले भने । विज्ञहरूले मानसिक तनाव वा निराशा भए परिवार, साथीभाइ, स्वास्थ्यकर्मी वा नजिकको प्रहरीसँग तत्काल सहयोग माग्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img