खेल समाचारतेस्रो बागमती खेलकुदको उपाधि काठमाडौंलाई

तेस्रो बागमती खेलकुदको उपाधि काठमाडौंलाई

फुटबलमा चितवन र काठमाडौं च्याम्पियन

हेटौँडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ को उपाधि काठमाडौंले जितेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा असार १ गतेदेखि सुरु भई असार ३ गते औपचारिक उद्घाटन गरिएको प्रतियोगितामा काठमाडौंले सर्वाधिक ५१ स्वर्ण, ३८ रजत र ४२ कास्य गरी कुल १३१ पदक जित्दै च्याम्पियन बनेको हो । प्रतियोगिताको अन्तिम दिन मंगलबार फुटबलका फाइनल खेल सम्पन्न भएसँगै गौरीटार फुटबल मैदानमा समापन तथा पुरस्कार वितरण समारोह गरिएको थियो ।

प्रतियोगितामा ललितपुरले पनि काठमाडौं बराबर कुल १३१ पदक जिते पनि स्वर्ण पदक कम हुँदा दोस्रो स्थानमा सीमित भयो । ललितपुरले ४६ स्वर्ण, ४१ रजत र ४४ कास्य पदक जितेको छ । चितवन ३० स्वर्ण, २८ रजत र २७ कास्य गरी कुल ८५ पदकसहित तेस्रो भएको छ । प्रथम भएको काठमाडौंले नगद १ लाख रुपैयाँ, दोस्रो भएको ललितपुरले ७५ हजार रुपैयाँ र तेस्रो भएको चितवनले ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् ।

प्रतियोगिताको अन्तिम दिन फुटबलतर्फ पुरुष र महिलाको फाइनल खेल भएको थियो । पुरुषतर्फको उपाधि चितवनले जितेको छ भने महिलातर्फ काठमाडौं च्याम्पियन बनेको छ । मंगलबार बिहान हेटौँडा–५ स्थित पिप्ले रंगशालामा भएको महिलातर्फको फाइनलमा काठमाडौंले चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि विजेता काठमाडौंका खेलाडीहरूले जनही ५ हजार रुपैयाँ र उपविजेता चितवनका खेलाडीहरूले जनही ४ हजार रुपैयाँ प्राप्त गरे ।

महिलातर्फ काठमाडौंकी मनिषा आले मगर प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद २० हजार रुपैयाँ प्राप्त गरिन् । काठमाडौंकै झरना नगरकोटी उत्कृष्ट गोलकिपर, सजिता कोइराला उत्कृष्ट डिफेन्डर र देवेन्द्रजंग शाही उत्कृष्ट प्रशिक्षक घोषित भए । चितवनकी सुसिला केसी उत्कृष्ट मिडफिल्डर र प्रतिक्षा ठकुरी उत्कृष्ट फरवार्ड घोषित भएका छन् ।

यस्तै, मंगलबार दिउँसो हेटौँडाको गौरीटार रंगशालामा भएको पुरुषतर्फको फाइनलमा चितवनले मकवानपुरलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जित्यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा चितवनले मकवानपुरलाई ३–१ गोल अन्तरले हराएको हो । पुरुषतर्फ मकवानपुरका अभिषेक भोलन प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद २० हजार रुपैयाँ प्राप्त गरे । चितवनका मनोज गुरुङ उत्कृष्ट गोलकिपर, विकल तामाङ उत्कृष्ट डिफेन्डर, सलिल ढकाल उत्कृष्ट फरवार्ड र सुमन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । मकवानपुरका सुजन गुरुङ उत्कृष्ट मिडफिल्डर घोषित भएका छन् ।

अन्तिम पदक तालिकाअनुसार काभ्रेपलाञ्चोक २२ स्वर्ण, १८ रजत र १८ कास्य गरी ५८ पदकसहित चौथो स्थानमा रह्यो । भक्तपुरले १७ स्वर्ण, २२ रजत र ३६ कास्य गरी ७५ पदक, मकवानपुरले ११ स्वर्ण, १० रजत र ३२ कास्य गरी ५३ पदक, सिन्धुपाल्चोकले १० स्वर्ण, ११ रजत र १० कास्य गरी ३१ पदक, नुवाकोटले ९ स्वर्ण, १३ रजत र २० कास्य गरी ४२ पदक, धादिङले ९ स्वर्ण, १० रजत र २१ कास्य गरी ४० पदक जितेका छन् । रामेछापले ८ स्वर्ण, ३ रजत र २१ कास्य, सिन्धुलीले २ स्वर्ण, ११ रजत र २२ कास्य, रसुवाले २ स्वर्ण, ७ रजत र ४ कास्य तथा दोलखाले १ स्वर्ण, ३ रजत र १४ कास्य पदक जितेका छन् ।

प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाको सहभागिता थियो । विभिन्न १५ खेल विधामा २१७ स्वर्ण, २१४ रजत र ३११ कास्य गरी कुल ७४४ पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा १ हजार ५१५ पुरुष र १ हजार १९२ महिला गरी कुल २ हजार ७०७ खेलाडी सहभागी भएका थिए । प्रतियोगिताका खेलहरू हेटौँडा, चितवन, ललितपुर र काठमाडौंका विभिन्न खेलस्थलमा सञ्चालन गरिएको थियो ।

महिला भलिबल ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा र पुरुष भलिबल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको थियो । महिला क्रिकेट र कराते चितवनमा, पौडी ललितपुरमा तथा उसु, जुडो र टेबलटेनिस काठमाडौंमा सञ्चालन गरिएको थियो । फुटबल, पुरुष क्रिकेट, बक्सिङ, एथ्लेटिक्स, ब्याडमिन्टन, तेक्वान्दो, बुद्धिचाल, फूलकन्ट्याक कराते र आईटिएफ तेक्वान्दो हेटौँडामा सञ्चालन भएको आयोजकले जनाएको छ ।

समापन समारोह बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाको अध्यक्षता तथा बागमती प्रदेश सरकारकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा सदस्य सचिव लामाले सीमित समय र पूर्वाधारका बीच पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताए । उनले खेलकुदको शैली परिवर्तन गर्नुपर्ने उल्लेख गर्दै यो प्रतियोगिता १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोटको आधारका रूपमा समेत लिन सकिने बताए ।

कार्यक्रमकी प्रमुख अतिथि मन्त्री नेपालले प्रदेश सरकारले खेलकुद नीति निर्माणको काम अघि बढाएको बताइन् । प्रदेशलाई खेलकुदमैत्री बनाउने, नयाँ प्रतिभा पहिचान गर्ने र खेलाडीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने प्रदेश सरकारको लक्ष्य रहेको उनको भनाइ थियो । पर्याप्त पूर्वाधार नहुँदा खेलाडीले आफ्नो प्रतिभा प्रस्तुत गर्न समस्या भोग्नुपरेको भन्दै उनले खेलकुद पूर्वाधार विकासलाई मन्त्रालयले प्राथमिकतामा राखेको बताइन् । प्रत्येक खेलका विजेता टोलीलाई पुरस्कार र ट्रफी तथा प्रत्येक खेलका सर्वोत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img