बागमती प्रदेशमकवानपुरमकवानपुरमा जेठमै ४० सवारी दुर्घटना, ६ जनाको मृत्यु

मकवानपुरमा जेठमै ४० सवारी दुर्घटना, ६ जनाको मृत्यु

हेटौँडा । मकवानपुरमा जेठ महिनामा मात्रै ४० वटा सवारी दुर्घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ती दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् । दुर्घटनामा ५९ वटा सवारीसाधन संलग्न भएका थिए । सोही अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरी २२ लाख ५९ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ ।

मकवानपुर पूर्व–पश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कान्तिलोकपथ, मदन भण्डारी राजमार्ग तथा हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक सडकसँग जोडिएको जिल्ला हो । धेरै सडकमार्ग र भित्री सडकसमेत बढ्दै गएको अवस्थामा दुर्घटनाको जोखिम पनि फैलिएको प्रहरीको बुझाइ छ । दुर्घटना निश्चित जोखिम क्षेत्रमा मात्र सीमित नभई अन्य स्थानमा पनि हुने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक माधव काफ्लेले जिल्लामा दुर्घटनाका हटस्पट पहिचान गरिएको बताउनुभयो । उहाँका अनुसार रातोमाटे, चुरियामाई सुरुङमार्ग आसपासका क्षेत्र दुर्घटनाका दृष्टिले बढी जोखिमयुक्त देखिएका छन् । “मकवानपुर धेरै सडकमार्गबाट जोडिएको जिल्ला हो । काठमाडौँ जाने बाटो नै तीन–चार वटा छन्, तराई, चितवन र सिन्धुलीतर्फ जाने सडक पनि छन् । त्यसैले नसोचेका ठाउँमा पनि दुर्घटना भइरहेका छन्,” उहाँले बताउनुभयो ।

काफ्लेका अनुसार तीव्र गति, चालकको लापरबाही, मादक पदार्थ तथा लागुऔषध सेवन, मोड धेरै भएका सडक, सवारी चाप र कतिपय अवस्थामा सवारीसाधनकै प्राविधिक समस्याले पनि दुर्घटना हुने गरेको देखिन्छ । दुर्घटनापछि भाग्ने प्रवृत्ति पनि चुनौतीका रूपमा रहेको उहाँको भनाइ छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख रमेश विष्टले दुर्घटना न्यूनीकरणका लागि नियमित चेकजाँच, सचेतनामूलक कार्यक्रम र गति नियन्त्रणसम्बन्धी निगरानीलाई निरन्तरता दिइएको बताउनुभयो । दुर्घटना घटाउन ट्राफिक प्रहरीको प्रयाससँगै चालक, यात्रु, यातायात व्यवसायी र नागरिक तहको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img