मकवानपुरकैलाश गाउँपालिकावडा ३ ले जित्यो उपाध्यक्ष कप भलिबलको उपाधि

वडा ३ ले जित्यो उपाध्यक्ष कप भलिबलको उपाधि

कैलाश । साविक विजेता वडा ५ लाई पराजित गर्दै कैलाश गाउँपालिका वडा नम्बर ३ ले चौथो उपाध्यक्ष कप रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार कैलाश–३ स्थित भवानी माध्यमिक विद्यालयको खेल मैदानमा भएको फाइनल खेलमा वडा ३ ले वडा ५ लाई २५–१२, २२–२५, २५–२३ र २५–२१ अङ्कले पराजित गर्दै उपाधि हात पारेको हो।

उपाधिसँगै वडा ३ ले ७५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता वडा ५ ले ५० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा गाउँपालिकाका ९ वडाको सहभागिता रहेको खेलकुद विकास समितिका अध्यक्ष मोहन वाइवाले बताए। उनका अनुसार पहिलो चरणका खेल लिग र दोस्रो चरणदेखि नकआउट प्रणालीमा सञ्चालन गरिएको थियो।

प्रतियोगितामा सात विधामा खेलाडी तथा प्रशिक्षकलाई पुरस्कृत गरिएको छ। उत्कृष्ट प्रशिक्षक वडा ३ का श्रीराम महर्जन, उत्कृष्ट खेलाडी वडा ३ का नवराज मुक्तान, उत्कृष्ट ब्लकर वडा ५ का हिरा लो, उत्कृष्ट स्पाइकर वडा ३ का नवीन रिजाल, उत्कृष्ट डिफेन्डर वडा ५ का विजय तामाङ, उत्कृष्ट सेटर वडा ५ का गोविन्द मुक्तान र उदयमान खेलाडी वडा ८ का विधान थिङ घोषित भए।

फाइनल खेल खेलकुद विकास समितिका अध्यक्ष मोहन वाइवाको अध्यक्षतामा भएको थियो। कार्यक्रममा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान प्रमुख अतिथि र उपाध्यक्ष बालकुमार मल्ल ठकुरी विशेष अतिथि थिए।

कार्यक्रममा बोल्दै अध्यक्ष मुक्तानले खेलकुद स्वस्थ, अनुशासित र सक्षम समाज निर्माणको आधार भएकाले गाउँपालिकाले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताए। उपाध्यक्ष मल्लले खेलकुदलाई मनोरञ्जन मात्र नभई स्वास्थ्य, अनुशासन, नेतृत्व विकास र सामाजिक एकताको आधारका रूपमा लिएको बताए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

Ads
Sidebar 3

ताजा समाचार

spot_img