हेटौँडा । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत भलिबलतर्फ पुरुषमा मकवानपुर र महिलामा धादिङले उपाधि जितेका छन्। काठमाडौँस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुवै टोली च्याम्पियन बनेका हुन्।
पुरुष भलिबलको फाइनलमा मकवानपुरले चितवनलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा पराजित गर्यो। उपाधि जितेको मकवानपुरका खेलाडीले जनही ५ हजार रुपैयाँ र उपविजेता चितवनका खेलाडीले जनही ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने भक्तपुर र धादिङका खेलाडीले जनही ३ हजार रुपैयाँसहित प्रमाणपत्र पाए।
सेमिफाइनलमा मकवानपुरले सिन्धुलीलाई र चितवनले धादिङलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका थिए। फाइनलमा मकवानपुरका निरोज मगर उत्कृष्ट लिबेरो, पुकार गुरुङ उत्कृष्ट लिफ्टर र कमलप्रसाद बिष्ट उत्कृष्ट प्रशिक्षक घोषित भए। चितवनका रियोन कार्की उत्कृष्ट स्पाइकर र नवीन महतो उत्कृष्ट सर्भर चुनिए। धादिङका प्रदीप गोल उत्कृष्ट मिडल ब्लकर घोषित भए।
महिला भलिबलतर्फ धादिङले उपाधि जितेको हो। धादिङले फाइनलमा दोलखालाई ३–० को सोझो सेटमा पराजित गर्यो। महिलातर्फ रामेछाप तेस्रो स्थानमा सीमित रह्यो। महिला प्रतियोगितामा धादिङकी रमिला गुरुङ उत्कृष्ट स्पाइकर, भावना तामाङ उत्कृष्ट सेटर, जानुका गुरुङ उत्कृष्ट लिबेरो र विमला लामा उत्कृष्ट प्रशिक्षक घोषित भए। रामेछापकी सपना श्रेष्ठ उत्कृष्ट मिडल ब्लकर घोषित भइन्।
यसैगरी टेबलटेनिस प्रतियोगितामा ललितपुरले पहिलो स्थान हासिल गरेको छ। हेटौँडामा सम्पन्न प्रतियोगितामा भक्तपुर दोस्रो र काठमाडौँ तेस्रो भएका छन्। प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष डबल, महिला डबल, पुरुष टोली र महिला टोली गरी ६ विधामा प्रतिस्पर्धा भएको थियो। महिला डबलतर्फ भक्तपुर पहिलो, काठमाडौँ दोस्रो तथा भक्तपुर र रामेछाप तेस्रो भए। पुरुष डबलतर्फ ललितपुर पहिलो, काठमाडौँ दोस्रो तथा भक्तपुर र रामेछाप तेस्रो भए।
महिला एकलतर्फ भक्तपुर पहिलो, सिन्धुपाल्चोक दोस्रो तथा काठमाडौँ र ललितपुर तेस्रो भए। पुरुष एकलतर्फ भक्तपुर पहिलो, ललितपुर दोस्रो तथा काठमाडौँ र ललितपुर तेस्रो स्थानमा रहे। पुरुष टोलीतर्फ काठमाडौँ पहिलो, सिन्धुपाल्चोक दोस्रो तथा ललितपुर र मकवानपुर तेस्रो भए। महिला टोलीतर्फ ललितपुर पहिलो, काठमाडौँ दोस्रो तथा काभ्रे र भक्तपुर तेस्रो भए।
बुद्धिचाल प्रतियोगितामा पनि ललितपुरले प्रथम स्थान हासिल गरेको छ। सात स्वर्ण पदक जित्दै ललितपुर शीर्ष स्थानमा रह्यो। चितवनले २ स्वर्ण र १–१ रजत तथा कास्य पदक जित्दै दोस्रो स्थान हासिल गर्यो। काठमाडौँले ३ रजत र ५ कास्यसहित तेस्रो स्थान प्राप्त गर्यो। प्रतियोगितामा महिलातर्फ १७ र पुरुषतर्फ १७ गरी ३४ खेलाडी सहभागी थिए।
आइतबार हेटौँडामा सम्पन्न बुद्धिचाल प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय भएका खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। समग्रमा उत्कृष्ट प्रदर्शन गर्ने टोली र खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिएको आयोजकले जनाएको छ।



