मकवानपुरइन्द्रसरोवर गाउँपालिकामकवानपुरका ९ पालिकाको बजेट ८ अर्ब ९० करोड बढी, जोड पूर्वाधारमै

मकवानपुरका ९ पालिकाको बजेट ८ अर्ब ९० करोड बढी, जोड पूर्वाधारमै

हेटौँडा । मकवानपुरका १० स्थानीय तहमध्ये ९ वटा पालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । हालसम्म सार्वजनिक भएका ९ पालिकाको कुल बजेट ८ अर्ब ९० करोड ९४ लाख ३५ हजार रुपैयाँभन्दा बढी पुगेको छ । सार्वजनिक बजेटको क्षेत्रगत प्राथमिकता हेर्दा अधिकांश पालिकाले सडक, भवन, खानेपानी, शहरी पूर्वाधार, पदमार्ग, वडा तहका योजना र स्थानीय संरचना निर्माणलाई प्राथमिकतामा राखेका छन् ।

जिल्लाका हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी, मकवानपुरगढी, भीमफेदी, बकैया, बागमती, इन्द्रसरोवर र कैलाश गाउँपालिकाले आगामी वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । राक्सिराङ गाउँपालिकाले भने असार २० देखि २५ गतेभित्र गाउँसभा गरी बजेट ल्याउने तयारी गरेको छ । आन्तरिक स्रोत कमजोर, संघीय तथा प्रदेश अनुदानमा निर्भरता, चालु खर्चको बढ्दो दबाब र पुँजीगत खर्च कार्यान्वयनको चुनौतीबीच पालिकाहरूले आगामी वर्षको विकास प्राथमिकता तय गरेका हुन् ।

सार्वजनिक बजेटमध्ये सबैभन्दा ठूलो आकार हेटौँडा उपमहानगरपालिकाको छ । जिल्लाको एक मात्र उपमहानगरपालिका तथा सबैभन्दा ठूलो स्थानीय तह भएकाले पनि हेटौँडाको बजेट अन्य पालिकाको तुलनामा स्वाभाविक रूपमा ठूलो देखिएको हो । हेटौँडाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ८५ करोड ५ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ । चालु आर्थिक वर्षको तुलनामा ५ करोड रुपैयाँ कम बजेट ल्याएको उपमहानगरपालिकाले पूर्वाधार विकासका लागि मात्रै ६७ करोड १९ लाख ८१ हजार रुपैयाँ विनियोजन गरेको छ । वडा तहका योजना तथा कार्यक्रमका लागि ४८ करोड ४० लाख ६२ हजार रुपैयाँ छुट्याइएको छ । सडक सुरक्षा, उज्यालो शहर, सिसीटिभी जडान, खानेपानी, एकीकृत बसपार्क, टर्मिनल भवन र शहरी विकास कार्यक्रम हेटौँडाको प्राथमिकतामा परेका छन् ।

हेटौँडापछि बजेटको आकारका हिसाबले मनहरी गाउँपालिका अगाडि देखिएको छ । मनहरीले आगामी आर्थिक वर्षका लागि ९८ करोड ५७ लाख ६३ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिकाको बजेटमा पूर्वाधार विकास सबैभन्दा ठूलो क्षेत्र बनेको छ । मनहरीले पूर्वाधार विकासका लागि ३४ करोड ९१ लाख ६६ हजार रुपैयाँ विनियोजन गरेको छ भने सामाजिक विकासतर्फ २८ करोड १८ लाख ८ हजार रुपैयाँ छुट्याएको छ । गाउँपालिकाले नदीजन्य पदार्थ बिक्रीलाई आम्दानीको मुख्य स्रोत मानेको छ । दहत्तर–बहत्तर बिक्रीबाट मात्रै २६ करोड ७४ लाख ८२ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

थाहा नगरपालिकाले ९० करोड ९७ लाख ४४ हजार रुपैयाँको बजेट सर्वसम्मत पारित गरेको छ । नगर उपप्रमुख भरत गोपालीले प्रस्तुत गरेको बजेटमा कृषि उत्पादन वृद्धि, स्थानीय सडक तथा पूर्वाधार निर्माण, खानेपानी, शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, वातावरण संरक्षण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ । संघीय सरकारबाट ५५ करोड ८४ लाख ९१ हजार रुपैयाँ र प्रदेश सरकारबाट १२ करोड ६२ लाख ५२ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

पूर्वी मकवानपुरको बकैया गाउँपालिकाले ८९ करोड ५० लाख ४४ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । उपाध्यक्ष भक्तबहादुर खत्रीले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र वातावरणमैत्री पूर्वाधारलाई समृद्ध बकैया निर्माणको आधार मानिएको छ । कुल बजेटमध्ये चालुतर्फ ६३ करोड १३ लाख १९ हजार रुपैयाँ र पुँजीगततर्फ २५ करोड ३७ लाख २५ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । पूर्वाधार विकासतर्फ ९ करोड ३७ लाख ५० हजार रुपैयाँ र आर्थिक विकासतर्फ ३ करोड ९६ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको आकारमा बकैयापछि भीमफेदी गाउँपालिका रहेको छ । भीमफेदीले ८३ करोड १ लाख ६२ हजार ३ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले पर्यटन, कृषि, पूर्वाधार, शिक्षा, स्वास्थ्य र सुशासनलाई प्राथमिकतामा राखेको छ । लटारमेश्वर महादेव मन्दिर क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने, हावाभञ्ज्याङदेखि लटारमेश्वरसम्म पदमार्ग निर्माण गर्ने, कोगटे–धार्के–महाभीर–फाप्लाड सडक स्तरोन्नति गर्ने र कोदो खेती प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिने योजना बजेटमा समेटिएका छन् । प्रमुख प्रशासकीय अधिकृत चेतनाथ न्यौपानेका अनुसार बजेट संघीय तथा प्रदेश अनुदान, राजस्व बाँडफाँट, रोयल्टी, सवारी कर र आन्तरिक स्रोतमा आधारित छ ।

बागमती गाउँपालिकाले ७३ करोड २० लाख रुपैयाँको बजेट ल्याएको छ । उपाध्यक्ष फणीन्द्र तिमल्सिनाले प्रस्तुत गरेको बजेटमा शिक्षा, युवा तथा खेलकुद, स्वास्थ्य, पूर्वाधार र कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । पूर्वाधार विकासतर्फ १६ करोड १९ लाख रुपैयाँ विनियोजन गरिएको छ । बागमती फुटबल एकेडेमी सञ्चालन तथा व्यवस्थापनका लागि ५० लाख रुपैयाँ र राष्ट्रिय बागमती गोल्डकपका लागि ४० लाख रुपैयाँ छुट्याइएको छ । किसानले उत्पादन गरेको दूधमा प्रतिलिटर अधिकतम ५ रुपैयाँ अनुदान उपलब्ध गराउन १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बागमतीकै हाराहारीको बजेट मकवानपुरगढी गाउँपालिकाले ल्याएको छ । मकवानपुरगढीले ७२ करोड ७५ लाख २३ हजार १२० रुपैयाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार, सुशासन र वातावरणीय सन्तुलनलाई विकासका सात आधार स्तम्भका रूपमा अघि सारेको छ । सामाजिक विकास क्षेत्रमा सबैभन्दा बढी ३२ करोड १ लाख ७८ हजार १२० रुपैयाँ विनियोजन गरिएको छ । पूर्वाधार विकासतर्फ २३ करोड ३० लाख रुपैयाँ, आर्थिक विकासतर्फ ५ करोड ४५ लाख १० हजार रुपैयाँ र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ १० करोड २५ लाख रुपैयाँ छुट्याइएको छ ।

विकट भूगोल रहेको कैलाश गाउँपालिकाले ५५ करोड ८४ लाख ६९ हजार रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले प्रस्तुत गरेको नीति कार्याक्रममा महिला, बालबालिका, ज्येष्ठ नागरिक, युवा लक्षित कार्यक्रम, चेली प्रोत्साहन, एक घर एक धारा, पूर्ण सरसफाइ, रैथाने बाली संरक्षण, स्वास्थ्य सेवा विस्तार र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बालविवाह न्यूनीकरण र किशोरी शिक्षालाई जोड दिँदै चेली प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।

सार्वजनिक बजेटमध्ये सबैभन्दा सानो आकार इन्द्रसरोवर गाउँपालिकाको छ । इन्द्रसरोवरले ४२ करोड २ लाख ३० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । उपाध्यक्ष उमा लामाले प्रस्तुत गरेको बजेटमा पर्यटन, कृषि, पूर्वाधार र सुशासनलाई मुख्य प्राथमिकतामा राखिएको छ । गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले कुलेखानी जलाशयलाई केन्द्रमा राखेर पर्यटनलाई आर्थिक विकासको आधार बनाइएको बताए । होमस्टे प्रवर्द्धन, पर्यटकीय पदमार्ग निर्माण, बेमौसमी तरकारी तथा मत्स्यपालन प्रवर्द्धन र शीतभण्डार तथा संकलन केन्द्र स्थापना गर्ने कार्यक्रम बजेटमा समेटिएका छन् ।

मकवानपुरका १० पालिकामध्ये राक्सिराङ गाउँपालिकाले मात्रै आगामी आर्थिक वर्षको बजेट ल्याउन बाँकी छ । गाउँपालिकाले असार २० देखि २५ गतेभित्र गाउँसभा गर्ने तयारी गरेको उपाध्यक्ष वनस्तम थिङले बताए । उनका अनुसार बजेटको आकार अन्तिम भइसकेको छैन । तर करिब २५ देखि ३० करोड रुपैयाँभन्दा माथिको बजेट आउने अनुमान गरिएको छ । आन्तरिक स्रोत कमजोर रहेको र संघीय तथा प्रदेश सरकारबाट आउने अनुदान पनि घट्दो क्रममा रहेकाले बजेट निर्माण चुनौतीपूर्ण रहेको उनले जानकारी दिए ।

थिङका अनुसार राक्सिराङले आगामी बजेटमा ठूलो पूर्वाधार योजनाभन्दा शिक्षा, स्वास्थ्य र मानवीय विकासका कार्यक्रमलाई प्राथमिकता दिने तयारी गरेको छ । विकास बजेट कमजोर हुनसक्ने भए पनि शिक्षा र स्वास्थ्यतर्फको बजेट घटाउने सोच नरहेको उनले बताए । चालु आर्थिक वर्षका योजनाहरू अझै कार्यान्वयनकै चरणमा रहेकाले अन्तिम समयसम्म थप योजना सम्पन्न हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

समग्रमा मकवानपुरका पालिकाहरूको बजेटले स्थानीय तहको विकास प्राथमिकता अझै पनि पूर्वाधारमै केन्द्रित रहेको देखाउँछ । सडक, भवन, खानेपानी, शहरी पूर्वाधार, पदमार्ग, खेल पूर्वाधार र प्रशासनिक संरचनामा ठूलो रकम विनियोजन गरिएको छ । तर शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खेलकुद र सामाजिक समावेशीकरणलाई पनि बजेटले सँगसँगै अघि बढाउने प्रयास गरेको छ । कमजोर आन्तरिक स्रोत, अनुदानमा निर्भरता र पुँजीगत बजेट समयमै खर्च गर्ने चुनौतीका कारण आगामी वर्ष बजेट कार्यान्वयन नै पालिकाहरूको मुख्य परीक्षा हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img