फिचर१० वर्षमा आधा घटेको विद्युत चुहावट फेरि बढ्न थाल्यो

१० वर्षमा आधा घटेको विद्युत चुहावट फेरि बढ्न थाल्यो

हेटौँडा | नेपाल विद्युत प्राधिकरणले लगातार दश वर्षदेखि घटाउँदै आएको वितरणतर्फको विद्युत चुहावट यो वर्ष भने बढेको छ।

प्राधिकरणका तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा चुहावट नौ दशमलव पाँच नौ प्रतिशतमा सीमित थियो। तर, २०८१/८२ मा बढेर दश दशमलव सात छ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको तुलनामा करिब एक दशमलव एक सात प्रतिशत विन्दु वृद्धि भएको हो।

दश वर्षअघि, अर्थात् २०७२/७३ मा चुहावट उन्नाइस दशमलव आठ प्रतिशत थियो। बीचमा आधाभन्दा कममा झरेको चुहावट फेरि बढ्दै जानु प्राधिकरणका लागि चिन्ताको विषय बनेको छ।

गत वर्ष प्राधिकरणको वितरण प्रणालीमा बाह्र अर्ब चौंसट्ठी करोड युनिट विद्युत आएको थियो। त्यसमा करिब एघार अर्ब अठ्ठाईस करोड युनिट मात्र बिक्री भयो भने एक अर्ब छत्तीस करोड युनिट चुहावट भयो। औसत महसुल दरमा हिसाब गर्दा यो चुहावटबाटै बाह्र अर्ब रुपैयाँभन्दा बढी नोक्सानी भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले आउँदो भदौ एक गते ४० औँ वार्षिकोत्सव मनाउँदैछ। उपलब्धि सार्वजनिक गर्ने तयारी भइरहे पनि नेतृत्व परिवर्तनको बेलामा चुहावट बढ्नु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका लागि टाउको दुःखाइ बनेको छ।

प्राधिकरण अधिकारीहरूका अनुसार चुहावट प्राविधिक (जस्तै ट्रिपिङ, आपूर्ति समस्या) र गैरप्राविधिक दुवै कारणले हुन्छ। तर पछिल्ला महिनामा चुहावट तथा चोरी नियन्त्रणका कदम प्रायः ठप्प भएपछि स्थिति बिग्रिएको बताइन्छ।

यसैबीच, कार्यकारी निर्देशक शाक्यले चुहावट बढेको तथ्यांक संशोधन गर्न निर्देशन दिएका छन्। त्यसअनुसार ग्राहक तथा वितरण सेवा निर्देशनालयका निर्देशक दीर्घायुकुमार श्रेष्ठले शनिबार बैठक बोलाएका छन्। बैठकमा सबै प्रादेशिक कार्यालय प्रमुखलाई बोलाइएको छ। तर, एक प्रादेशिक प्रमुखले भने, “म त तथ्यांक संशोधन गर्न सक्दिनँ। दिनलाई रात भन्न मिल्दैन, भोलि महालेखापरीक्षकले अडिट गर्ने कुरा हो।”

शाक्यले यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रस्तुत गरेका चुहावट नियन्त्रणका तथ्यांकमै चलखेल भएको आरोप पनि लगाएका छन्।

Ads
sidebar 3 / after post

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img